सुनसरी । आज भदौ २ गते । आजको दिनले १६ वर्ष अघिको एउटा त्रासमय घटना सम्झना गराउँछ । २०६५ भदौ २ गते कोशी नदीको पूर्वी तटबन्ध भत्किएर त्राहिमाम अवस्था सिर्जना भएको थियो । त्यसैले यो दिनलाई धेरैले अकल्पनीय घटना भएको दिनका रुपमा सम्झन्छन् । तत्कालीन पश्चिम कुशाहा गाविसस्थित कोशी ब्यारेजको उत्तरी भागमा कोशीको बाँध दिउँसो करिब साढे १ बजे फुटेको थियो । हेर्दाहेर्दै बाँधमा रहेका कैयौँ ठूला रुखहरू नदीमा विलीन भए । पूर्वपश्चिम राजमार्गभन्दा उत्तरमा रहेको गाउँ एकै छिनमा पानीमुनि पुगेको थियो ।
तटबन्ध भत्किएर कोशीको भेल गाउँ पसेपछि त्यस बेला घरबारविहीन बनेका सुनसरीका रामकिशोर मेहता त्यस बेलाको घटनालाई यसरी सम्झन्छन्–
असार पहिलो हप्तादेखि सुरु भएको धान रोपाइँ लगभग सकिसकेको थियो । हरेक वर्ष मनाइने रक्षाबन्धन त्यस वर्ष भदौ १ गते परेको थियो । तराई मधेशमा विशेष महत्वको साथ मनाइने रक्षा बन्धन पर्वको लागि दिदीबहिनीहरू तम्तयार थिए । सुनसरी जिल्लाको सबभन्दा कम विकसित क्षेत्रको रूपमा रहेको तत्कालीन गाउँ विकास समिति पश्चिम कुशाहा, श्रीपुर जब्दी तथा हरिपुरमा एक छुट्टै किसिमको त्रास फैलिएको थियो । त्यो त्रास थियो– कोशीको बाँध फुट्न आँटेको छ भनेर।
सामान्यतयाः पहाडी क्षेत्रमा भारी वर्षा भएको बेला त्रसित हुने यस सिमसार क्षेत्रको जनता यसपटक भने केही दिनदेखि वर्षा नभएकोले चिन्तित थिए । सन् १९५४ अप्रिल २५ मा नेपाल र भारत सरकारबीच भएको कोशी सम्झौता अनुरूप सन् १९५९ (वि.सं २०१७) सालमा निर्मित कोशी बाँधको ब्यारेजको पुलदेखि ३२ किलोमिटर नेपाली भूभागमा पनि रेखदेख तथा मर्मत सम्भार गर्ने दायित्व बिहार सरकारको हुने भनेर स्पष्ट व्यवस्था थियो ।
त्यसबमोजिम हरेक वर्षायामको बेलामा विहार सरकारको कोशी प्रोजेक्टबाट तटबन्ध तथा स्परहरूको सामान्य मर्मत गर्नको लागि भारतीय गाडीहरू तटबन्ध हुँदै उत्तरतर्फ कुदिरहेको नै देखिन्थ्यो । बाहिरबाट हेर्दा सबै कुरा सामान्य नै देखिने तथा ब्यारेज उत्तर नेपाली भूभागमा यसअघि कहिले पनि बाँध नफुटेको कारण कसैले यस्तो होला भनेर कल्पना समेत गरेका थिएनन् ।
जब हल्ला बाक्लिन थाल्यो केही स्थानीय नेताहरूले सो क्षेत्रको निरीक्षण गरे । तर समय घर्किसकेको थियो । बाँध लगभग आधा कटिसकेको थियो । स्थानीय बासिन्दाले स्थानीय तहका प्रमुख, इलाका प्रमुखदेखि लिएर अरु विभिन्न ठाउँमा पनि हारगुहार गरे । तर कसैले पनि यसलाई गम्भीरतापूर्वक लिएन ।
बाँध फुट्न लागेको ठाउँबाट सिधा दक्षिणमा पर्ने तत्कालीन श्रीपुर जब्दी र हरिपुर गाविसमा त्रास फैलिसकेको थियो । आफ्नो जीवनकालमा नै पहिलो पटक त्रासदीपूर्ण वातावरणमा स्थानीय छटपटाइरहेका थिए ।
त्रासका बीच कोशीको बाँध भत्किएर पानी गाउँ पस्यो । पश्चिम कुशाहाको पूर्वी वडाहरू, लौकही, शिवगन्ज, भोक्राहा हुँदै पानी सुनसरी खोलामा खस्न थाल्यो । केही घण्टाको अवधिमा हराभरा गाउँ समुद्रजस्तै बन्यो । जताततै पानी नै पानी । मानिसहरुको रोइ कराइ, भागाभाग । धेरै अत्यासलाग्दो अवस्था थियो ।
हेर्दाहेर्दै नेपालको श्रीपुर, हरिपुर र पश्चिम कुशाहा (हाल कोशी गाउँपालिका) का ४५ हजार मान्छेको उठिबास भयो । उता भारतको विहार राज्यको सुपौल, अररिया, सहरसा, मधेपुरा, पूर्णिया जिल्लाको हजारभन्दा बढी गाउँका ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।