मोहन ढकाल/संगालोखबर


विराटनगर । सफा सडक अनि सडक पेटी । फोहोरको कुनै नाम निसान छैन । यस्तो सफा अनि स्वच्छ सहर कहाँको हो ? सोच्नुहोस् त ।

‘यो पक्कै पनि विराटनगर महानगरपालिकाको हो’ भन्ने दिन कहिले आउने होला ? महानगरपालिका, महानगरबासी र फोहोर व्यवस्थापन गर्दै आएका संस्थाहरूले सक्रिय भएर आ–आफ्नो कर्तव्य पूरा गर्ने हो भने पक्कै पनि यस्तो अवस्था आउन धेरै समय लाग्दैन ।

Advertisement

अहिलेको अवस्था नियाल्दा आफ्नो कर्तव्य पालना गर्न सबै चुकेको देखिन्छ । चलेकै छ भन्ने सोचाइले गर्दा विराटनगरले सरसफाइको क्षेत्रमा प्रभावकारी काम गर्न सकेको छैन । महानगरपालिकाले उत्तरी, मध्य र पश्चिमी क्षेत्र छुट्याएर फोहोर व्यवस्थापन गर्न थालेको दुई वर्षभन्दा बढी भयो । तर पनि फोहोर व्यवस्थापनको अवस्था अझै भद्रगोल नै छ ।

महानगरको उत्तरी क्षेत्रमा फूलबारी वेष्ट थ्रीआरपोलुशन कन्ट्रोल सर्भिस प्रालिले फोहोर व्यवस्थापन गर्दै आएको छ । यस्तै, मध्य क्षेत्रमा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल र दक्षिणी क्षेत्रमा सगरमाथा मल्टी सर्भिस लिमिटेडले फोहोर व्यवस्थापन गर्दै आएको छ ।

यति हुँदाहुँदै पनि महानगरमा सरसफाइको अवस्था चित्तबुझ्दो छैन । यसमा महानगर, फोहोर व्यवस्थापनको जिम्मा पाएका संस्था र महानगरबासीको भूमिका पनि महत्वपूर्ण छ । यसमा सबै पक्ष चुकेको देखिन्छ । जिम्मा पाएका निकायहरूले पनि चलिहाल्छ नि भन्ने मनसाय लिएर काम गरिरहेको पाइन्छ । महानगरमा अहिले दैनिक करिब सय टनको हाराहारीमा फोहोर उत्पादन हुँदै आएको छ । महानगरको तीन क्षेत्रमध्ये दक्षिणी क्षेत्र फोहोर व्यवस्थापनको हिसाबले सबैभन्दा कमजोर देखिन्छ । दक्षिणी क्षेत्रमा चेतनाको अभावमा सफाइ कार्ड लिनेको संख्या पनि न्यून छ ।

महानगरले कडाइ गरेर सबै घरपरिवारलाई सफाइ कार्ड अनिवार्य नगराएसम्म फोहोर व्यवस्थापन सोचेअनुसार हुन नसक्ने सरसफाइको जिम्मा पाएका संस्थाहरूको निश्कर्ष छ । दक्षिणी क्षेत्रअन्तर्गत सगरमाथा मल्टी सर्भिस लिमिटेडले १२, १३, १४, १५, १६, १७ र १८ नम्बर वडाको सरसफाइ गर्दै आइरहेको छ । दक्षिणी क्षेत्रमा फोहोर व्यवस्थापनमा चुनौती रहेको सगरमाथा मल्टी सर्भिस लिमिटेडका प्रयोजना प्रमुख धनकुमार लामा बताउँछन् । वडाबासीले सदस्यता लिनसमेत नमान्ने उनले बताए ।

लामाका अनुसार दक्षिणी क्षेत्रमा तीन प्रतिशत पनि सफाइ सदस्यता छैनन् । वडाले पनि वडाबासीलाई सफाइ सदस्यता बन्न प्रभावकारी काम नगरेको उनको भनाइ छ । ‘फोहोर व्यवस्थापनमा हामीलाई चुनौती छ’, लामाले भने, ‘सबै घर परिवारलाई सदस्यता बन्नुपर्छ भनेर वडाले भूमिका खेलेको छैन । वडाबाट सोचेजस्तो सहयोग नपाउँदा समस्या भएको छ ।’ सफाइ सदस्यता नलिएको खण्डमा वडाबाट पाउने सेवासुबिधाबाट बञ्चित हुनुपर्ने भनेर वडाले सूचना निकालेर सोहीअनुसार काम गर्ने हो भने सफाइको क्षेत्रमा धेरै सुधार हुने उनको भनाइ छ ।

मध्य क्षेत्रअन्तर्गत वडा नम्बर ६, ७, ८, ९, १० र ११ मा स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालले फोहोर व्यवस्थापनको काम गर्दै आएको छ । मध्य क्षेत्रमा ७ हजार २ सय घरपरिवारले सरसफाई सदस्यता लिएका छन् । विगतको तुलनामा मध्य क्षेत्रमा फोहोर व्यवस्थापनको काम प्रभावकारी भइरहेको स्वास्थ्य र शान्तिका लागि वातावरण नेपालका संयोजक एकराज खनालले बताए ।

‘फोहोर मैला व्यवस्थापनमा कतै–कतै गुनासा आउने गरेका छन्, स्वाभाविक हो’, खनालले भने, ‘विगतको तुलनामा सकेसम्म प्रभावकारी काम भइरहेको जस्तो लाग्छ । शतप्रतिशत नसकेपनि ८० प्रतिशत काम भएको हाम्रो अनुमान छ ।’ वडा कार्यालयले प्रभावकारी भूमिका खेल्ने हो भने अझै धेरै सुधार हुने उनको भनाइ छ ।

महानगरको उत्तरी क्षेत्रअन्तर्गत १, २, ३, ४, ५ र १९ नम्बर वडामा फूलबारी वेष्ट थ्रीआर पोलुशन कन्ट्रोल सर्भिस प्रालिले सरसफाइको काम गर्दै आएको छ । उत्तरी क्षेत्रमा १८ हजार हाराहारीमा सदस्यता बन्नुपर्नेमा लगभग ५ हजार ५ सय घरपरिवार मात्रै सदस्यता रहेका फूलबारी वेष्ट थ्रीआरपोलुशन कन्ट्रोल सर्भिस प्रालिका प्रमुख व्यवस्थापक उमेश कटवालले बताए ।

उत्तरी क्षेत्रमा अन्य क्षेत्रको तुलनामा फोहोर व्यवस्थापनको काम सन्तोषजनक नै रहेको उनको भनाइ छ । ‘पहिलाको तुलनामा अहिले सुधार भएको अनुमान गर्न सकिन्छ’, उनले भने, ‘अचेल गुनासो पनि कम आउँछ । वडाबाट पनि सहयोग पाएका छौँ । तर पनि अझै सुधार गर्नुपर्ने पक्षहरू छन् ।’ विराटनगर महानगरपालिकाले लामो समयदेखि सार्वजनिक निजी–साझेदारी अवधारणाअन्तर्गत सरसफाई व्यवस्थापन निजी क्षेत्रबाट सञ्चालन गरिरहेको छ । एउटा मात्रै व्यवस्थापक राख्दा फोहोर व्यवस्थापनमा चुनौती थपिएका कारण निजी क्षेत्रबाटै फोहोर व्यवस्थापनको काम भइरहेको महानगरको सरसफाइ महाशाखाका प्रमुख पुनम दाहालले बताए ।

अबको केही वर्षमा महानगरले सरसफाइको क्षेत्रमा फड्को मार्ने दाहालले दाबी गरे । विगतका दिनमा फोहोर व्यवस्थापनका चुनौती धेरै भएपनि अहिले आएर धेरै सुधार भएको उनको भनाइ छ । ‘जबसम्म सफाइ कार्ड अनिवार्य हुँदैन, तबसम्म सोचेअनुसार फोहोर व्यवस्थापनको काम प्रभावकारी हुन सक्दैन’, महाशाखा प्रमुख दाहाल भन्छन्, ‘बिगतमा १२ हजारले सफाइ कार्ड लिएकोमा अहिले लगभग १८ हजारले लिएका छन् । अहिले सदस्यता विस्तार भइरहेको छ ।’

तर सदस्यता विस्तारले मात्रै फोहोर व्यवस्थापन नहुने उनको भनाइ छ । सदस्यता बनेकाले पनि बाटो र नहरमा फोहोर फ्याँक्ने गरेको उनले बताए । उनले भने, ‘महानगरबासी पनि सचेत भएको अवस्थामा फोहोर व्यवस्थापनमा सुधार आउने छ । अनि मात्रै हामीले सोचेजस्तै सफा, स्वच्छ विराटनगर बन्नेछ ।’

अहिले महानगरपालिकाले फोहोर व्यवस्थापन गरिरहेको ल्याण्डफिल साइट पनि व्यवस्थित नभएको दाहाल बताउँछन् । अबको अढाइ वर्षपछि व्यवस्थित ल्याण्डफिल साइट बनाउने योजनाका साथ महानगरपालिकाले काम गरिरहेको उनले बताए । सबै महानगरबासीलाई सफाइ सदस्यता बन्न आग्रह गर्दै उनले भने, ‘तपाईं हामी सबै सचेत भएर आफ्नो कर्तव्य निर्वाह गर्ने हो भने पक्कै पनि सफा, स्वच्छ महानगर बन्ने छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!