संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौं अधिवेशनमा नीति तथा कार्यक्रम पेश गरिएको छ । बिहिवार गाउँपालिकाको सभाहलमा भएको अधिवेशनमा गाउँपालिका अध्यक्ष मनोज राईले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

Advertisement

‘विपन्नसँग अध्यक्ष’ कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, आर्थिक सबलीकरणका लागि कृषक आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । स्वास्थ्य, शिक्षा, पर्यटनलगायत विभिन्न संरचनाहरूको निर्माण र प्रबलीकरणमा जोड दिइने भएको छ । यस्तै, रोजगारी सिर्जना हुने कार्यक्रमहरूलाई प्राथमिकता दिइने जनाइएको छ ।

‘सहिदभूमिको समृद्धि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि’ भन्ने उद्देश्यसहित स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा सन्तुलित वितरणलाई मध्यनजर गर्दै आयोजना तथा कार्यक्रम छनोट गरिने जनाइएको छ ।

गाउँपालिकाभित्र भएका गौरवका आयोजनालाई निरन्तरता दिँदै, त्यस्ता आयोजनालाई प्रदेश र संघीय सरकारको समन्वयमा सञ्चालन गर्दै लगिने, गरिबी निवारणमा टेवा पुर्याउने आयोजनाहरूलाई कार्यक्रममा समावेश गरिने, गाउँपालिकाको स्रोत साधनले धान्न नसक्ने कार्यक्रमका लागि प्रदेश र संघीय सरकारसँग बजेट माग गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बजेट तर्जुमा गर्दा विषय र क्षेत्रगत बजेट सीमा निर्धारण गरी सोहीबमोजिम योजनाहरू छनोट गरिने उल्लेख गरिएको छ । भौतिक पूर्वाधार तर्फका योजना र कार्यक्रमहरू चौथो त्रैमासिकमा सञ्चालन गरिने योजनाहरू बैशाख १५ गतेसम्ममा सम्झौता गरिसक्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गरिने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै, गाउँसभामा सहिदभूमि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को जेठ तेस्रो हप्तासम्म गरेका उपलब्धिसमेत पेश गरिएको थियो । कृषि विकास शाखाअन्तर्गत कार्यान्वयन हुनेगरी विनियोजन भएका १० वटामध्ये चारवटा कार्यक्रम सम्पन्न भएका र ६ वटा कार्यान्वयनको अन्तिम चरणमा रहेको जनाइएको छ ।

गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि ५० प्रतिशत छुट अनुदानमा गोलभेंडा र खोर्सानीको बिउ, विद्युतीय चार्जर स्पियर, ७ हर्स पावरको मिनी टिलर र फौजी किरा तथा अन्य किरा नियन्त्रणका लागि कीटनाशक विषादी निःशुल्क वितरण गरिएको जनाइएको छ । यस्तै, पशु सेवा शाखाअन्तर्गत कार्यान्वयन हुनेगरी विनियोजन गरिएका ७ वटामध्ये तीनवटा कार्यक्रम सम्पन्न भएको र तीनवटा कार्यान्वयनको अन्तिम चरणमा रहेको उल्लेख गरिएको छ ।

यसैगरी, स्वास्थ्य शाखातर्फ विनियोजन गरिएका ३८ वटामध्ये ३० वटा कार्यक्रम सम्पन्न भएको र ८ वटा कार्यान्वयनको चरणमा रहेको जनाइएको छ । शिक्षातर्फ स्थानीय भाषा, सीप, कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ । माध्यमिक विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई प्रविधिमैत्री बनाउन ई–हाजिरीको उपकरण जडान सम्पन्न भएको बताइएको छ ।

उद्यम शाखातर्फ विनियोजन भएका ११ वटामध्ये ६ वटा कार्यक्रमहरू सम्पन्न भएको र अन्य कार्यक्रम सम्पन्न हुने चरणमा रहेको जनाइएको छ । यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ विनियोजन भएका २४ वटामध्ये १९ वटा कार्यक्रम सम्पन्न भएको र अन्य कार्यक्रम सम्पन्न हुने चरणमा रहेको जनाइएको छ । चालु आर्थिक वर्षमा ९३ जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत गरी न्यूनतम सय दिनको रोजगार प्रदान गरिएको अधिवेशनमा जानकारी दिइएको थियो ।

सहकारी शाखातर्फ कार्यान्वयन हुनेगरी विनियोजन गरिएका ३ वटा कार्यक्रम सम्पन्न भइसकेको जनाइएको छ । पूर्वाधार विकासतर्फ ३५ वटा योजना सम्झौता भएकोमा ७ वटा सम्पन्न भएको र बाँकी योजना सम्पन्न हुने क्रममा रहेको उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!