मोहन ढकाल/संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ४० करोड २३ लाख राजश्व संकलन गरेको छ । आन्तरिक आयतर्फ चालु आर्थिक वर्षमा ८९ करोड ५० लाख राजश्व संकलनको लक्ष्य लिएको महानगरले बैशाख मसान्तसम्म ४० करोड २३ लाख १८ हजार मात्रै संकलन गर्न सकेको छ ।

यसरी हेर्दा महानगरले चालु आर्थिक वर्षको अन्त्यसम्ममा लगभग ५० प्रतिशत राजश्व संकलन गर्न सक्ने देखिन्छ । गत आर्थिक वर्षमा महानगरले ९९ करोड राजश्व संकलनको लक्ष्य राखेकोमा ६४ करोड मात्रै राजश्व संकलन गर्न सकेको थियो ।

Advertisement

चालु आर्थिक वर्षमा महानगरले सम्पत्ति करबापत १२ करोड ७३ लाख ८२ हजार राजश्व संकलन गरेको छ । यस्तै, भूमिकरबापत १ करोड १ लाख ५५ हजार, बहाल करबापत ६ करोड ८२ लाख ८१ हजार, बहाल बिरौटी कर बापत ८६ लाख ६३ हजार राजश्व संकलन भएको छ ।

यसैगरी, सवारी साधन कर (साना सवारी) तर्फ २० लाख ८९ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करतर्फ १ करोड ६१ लख २४ हजार, मनोरञ्जन करतर्फ ६२ हजार राजश्व संकलन भएको महानगरको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, महानगरले व्यवसायले भुक्तानी गर्ने करतर्फ १ लाख ८७ हजार, आखेटोपहारमा लाग्ने करतर्फ ३० लाख ५३ हजार, अन्य करतर्फ १ करोड १६ लाख २३ हजार राजश्व संकलन गरेको छ ।

महानगरले सरकारी सम्पत्तिको बहालबाट प्राप्त आय करबापत ९ लाख ५७ हजार, नहर तथा कुलो उपभोग गरेबापत ५ हजार, अन्य सेवा शुल्क तथा बिक्रीबापत ५१ लाख ९ हजार, न्यायिक दस्तुरबापत २ हजार राजश्व संकलन गरेको जनाइएको छ ।

अन्य प्रशासनिक सेवा शुल्कबापत १० लाख ५७ हजार, पार्किङ शुल्कबापत ९१ लख ९९ हजार, नक्सापास दस्तुरबापत ३ करोड ९ लाख, सिफारिस दस्तुरबापत १ करोड ७९ लाख ३४ हजार राजश्व संकलन भएको छ ।

यस्तै, व्यक्तिगत घटना दर्ता शुल्क बापत १४ लाख ७३ हजार, नाता प्रमाणित शुल्कबापत ५ लाख, अन्य दस्तुरबापत १ करोड ७४ लाख २७ हजार, व्यवसाय रजिष्ट्रेशनबापत ५ सय, न्यायिक दण्ड, जरिवाना र जफत बापत २८ हजार राजश्व संकलन भएको छ ।

प्रशासनिक दण्ड, जरिवाना र जफतबापत ८५ लाख ६९ हजार, धरौटी सदस्यता बापत १० लाख ९ हजार, अन्य राजश्वबापत ५५ लाख, व्यवसाय करबापत ४ करोड ९७ लाख ३१ हजार राजश्व संकलन भएको महानगरले जनाएको छ ।

यसैगरी, बेरुजुबापत ६ लाख, मनोरञ्जन करबापत १६ लाख ३५ हजार र विज्ञापन करबापत २९ लाख ४४ हजार राजश्व संकलन भएको महानगरको राजश्व व्यवस्थापन महाशाखा प्रमुख सरोजकुमार गौतमले जानकारी दिए ।

महानगरले राखेको लक्ष्यअनुसार राजश्व संकलन नभएको गौतमको भनाइ छ । महानगरले राजश्व संकलनको गति बढाउन विभिन्न गतिविधि गरिरहेको भएपनि लक्ष्य भेट्टाउन समस्या भइरहेको उनले बताए ।

उनी भन्छन्, ‘करदाताहरू जिम्बेवार नभएर नै राजश्व संकलनमा कमी भएको हो । करदाता जिम्मेवार हुने हो भने हामीले लक्ष्य भेट्टाउन सक्ने अवस्था थियो । अझै पनि करदातामा कर बुझाउनुपर्छ भन्ने धारणाको विकास नभएको हुन सकेको छैन ।’

उनले अझै डेढ महिना समय बाँकी रहेकाले ७० प्रतिशतसम्म राजश्व संकलन हुन सक्ने बताए । महानगरमा ५३ हजार घरधुरी छन्, गौतम भन्छन्, ‘कम्तीमा पनि ८०–९० प्रतिशत घरधुरीले नियमित रूपमा सम्पत्ति कर तिर्छन् भन्ने लक्ष्य राखिएको हुन्छ । तर ५० प्रतिशत घरधुरीले मात्रै सम्पति कर तिर्ने हुँदा लक्ष्य भेट्टाउन समस्या भएको हो ।’

यही समयमसम्म तुलना गर्ने हो भने गत वर्षको तुलनामा यो वर्ष ७–८ करोड कम राजश्व संकलन भएको उनको भनाइ छ । महानगरले सकेसम्म धेरै कर संकलन गर्न स्वंयमसेवकलाई परिचालन गरेर विभिन्न कार्यक्रम गरिरहेको उनले बताए । महानगरको करको मुख्य स्रोतहरूमा सम्पति कर, घरबहाल कर, व्यवसाय कर र ठेक्कापट्टालगायत रहेको उनले जानकारी दिए

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!