Avatar photoRabin Katel

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा इलामको सन्दकपुरका अविरमान गुरुङको स्टेण्ट विना नै एन्जियोप्लाष्टी गरिएको छ । मुटुमा समस्या भएर आएका सन्दकपुर-२ का ६० वर्षीय गुरुङको विना स्टेण्ट एन्जियोप्लाष्टी गरिएको हो ।

Advertisement

मुटुको रक्त प्रवाह गर्ने धमनी साँघुरिएमा शरीरमा रक्त प्रवाह कमी भई मानिसको ज्यान नै जान सक्ने खतरा हुन्छ । यस्तो अवस्थामा चिकित्सकले बिरामीलाई एन्जियोप्लाष्टी गर्छन् । प्राय एन्जियोप्लाष्टी गर्दा स्टेण्ट हाल्ने गरिन्छ । तर, गुरुङलाई स्टेण्ट नहाली ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी गरिएको मुटु विभागका प्रमुख प्रा.डा.राजेश नेपालले जानकारी दिए ।

गुरुङलाई तीन वर्ष अघिदेखि छाती दुख्ने समस्या सुरु भएको थियो । गाउँमा धामी लगाउँदा निको नभएपछि उपचारका लागि झापा हुँदै सिलिगुडी पुर्याइयो । त्यहाँ स्टेण्ट लगाएर एन्जियोप्लाष्टी गरिएको थियो । पछि पुनः छाती दुख्ने समस्या बल्झिएपछि नोबेल ल्याइएको हो । नोवेलमा परीक्षण गर्दा तीन वर्ष अघि मुटुमा हालिएको स्टेण्टमा पुन ब्लकेज देखिएपछि विना स्टेण्ट ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी गरिएको हो । एन्जियोप्लाष्टीपछि उनको स्वास्थ्यमा सुधार आएको छ ।

डा.नेपालका अनुसार स्टेण्ट हालेर गरिने एन्जियोप्लाष्टीको बैकल्पिक रुपमा यो प्रविधि आएको हो । यसमा साँधुरिएको धमनीमा औषधी भएको बेलुन पुर्याएर फुलाउने/खुम्चाउने गरिन्छ । जसका कारण साँधुरिएको भाग खुल्न गई रक्त प्रवाह सुचारु हुन्छ । तर, स्टेण्ट हाल्ने प्रकारको सबै समस्यामा ड्रग कोटेड बलुन एन्जियोप्लाष्टी गर्न मिल्दैन । पहिला स्टेण्ट हालिसकेको र पछि पुन नशा साँघुरिएमा यो प्रविधिबाट उपचार गर्दा प्रभावकारी हुने गरेको छ ।

दुई स्थानमा रक्त नली साँघुरिएको भए एक ठाउँमा स्टेण्ट हालेर अर्को ठाउँमा यो प्रविधीबाट उपचार गर्ने गरिन्छ । साना धमनीहरुमा स्टेण्ट हाल्न सम्भव नभएको अवस्थामा पनि यो प्रविधी उपयोगी हुने डा.नेपाल बताउँछन् । सजिलो र कम जोखिमयुक्त मानिन्ने यो प्रविधिको ‘सक्सेस रेट’ पनि राम्रो रहेको उनको दावी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement