संगालोखबर सम्वाददाता

मकवानपुर । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले मकवानपुरको हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । हेटौंडास्थित हेटौंडा स्कुल अफ म्यानेजमेन्टसँग सहकार्य गरेर केएमसीले दुई दिने शिविर आयोजना गरेको हो ।

Advertisement

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले शिविर उद्घाटन गरेकी छन् । शिविर उद्घाटन गर्दै मेयर लामाले गरिब तथा विपन्न बिरामीलाई शिविरले निकै फाइदा पुर्याउने विश्वास व्यक्त गरिन् ।

शनिवार सम्पन्न भएको शिविरमा २ हजार १ सय २० जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

टाढा–टाढाबाट पनि बिरामीहरू उपचारका लागि शिविरमा आएका थिए । शिविरमा ५७४ जनाको भिडियो एक्सरे, ५२२ जनाको रक्त परीक्षण, ३५० जनाको इसीजी र २५१ जनाको इको गरिएको छ ।

त्यस्तै, दाँतमा समस्या भएका ५१ जनाको दाँत फुकालिएको छ । शिविरमा उपचार सम्भव नभएका तथा गम्भीर समस्या देखिएका १०५ जनालाई थप उपचारका लागि अस्पताल रिफर गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले बताए ।

शिविरका लागि केएमसीबाट विशेषज्ञ डाक्टरहरुसहित ३५ जनाको टोली आएको थियो ।

स्वास्थ्य उपचार र चिकित्सा शिक्षाका क्षेत्रमा फड्को मार्दै गएको केएमसीले देशका बिभिन्न स्थानमा शिविर सञ्चालन गर्दै आएको छ । गरिब तथा विपन्न बिरामीलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!