- संगालोखबर सम्बाददाता

दैलेख । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना बिरामीले निःशुल्क उपचार पाएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद शर्माले दैलेखका तीन पालिकामा तीन दिन शिविर सञ्चालन गराएका हुन् ।

दैलेखको आठविस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र दुल्लु नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । तीन वटा शिविरमा ४०८ जनाको मुटुको जाँच इसीजी, १०७ जनाको इको, ९१४ जनाको भिडियो एक्सरे र ५४२ जनाको रक्त परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

बुधबार आठबीस नगरपालिकामा सञ्चालित शिविरमा १ हजार ३ सय २२ जना बिरामीको उपचार गरिएको थियो । बिहीबार चामुण्डा बिन्द्रासैनी नगरपालिकामा गरिएको शिविरमा १ हजार ५ सय ६३ जना र शुक्रबार दुल्लु नगरपालिकामा सञ्चालित शिविरमा १ हजार ७ सय ५३ बिरामीको निःशुल्क उपचार गरिएको छ ।

शिविरमा गाउँ–गाउँबाट बिरामीहरू उपचारका लागि आएका थिए । कतिपय बिरामीलाई स्टेचरमा राखेर पनि उपचारका लागि शिविरमा ल्याइएको थियो । काठमाडौंबाट विशेषज्ञ डाक्टरहरूको टोली गाउँमा पुग्दा बिरामीको भीड लागेको थियो ।

 

शिविर सञ्चालनका लागि दैलेख क्षेत्र नं.२ बाट निर्वाचित सांसद दिक्पाल कुमार शाहीले समन्वय गरेका थिए । सांसद साही र स्थानीय पालिकाहरुसँगको समन्वयमा सांसद शर्माले तीन वटै ठाउँमा शिविर सञ्चालन गराएका थिए । कांग्रेस नेतासमेत रहेको सांसद शर्माले देशका विभिन्न जिल्लामा विशेषज्ञ डाक्टरको टोली पठाएर गरिब तथा विपन्न बिरामीको निःशुल्क उपचार गराउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!