- रबिन कटेल/संगालोखबर

धनकुटा । तराई क्षेत्रका पेट्रोल पम्पहरूले धनकुटासहित पूर्वी पहाडी जिल्लामा अवैध रुपमा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ बिक्री गर्ने गरेको पाइएको छ । नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीको प्रावधान विपरित पम्पहरूले निर्माण आयोजनाहरूमा ‘सेटिङ्ग’ मा ट्याङ्करबाटै तेल बेच्ने गरेको पाइएको हो । उनीहरूले आयल निगमबाट नभई भारतबाट सिधै खरिद गरेर कर छली गरी पेट्रोलियम पदार्थ ल्याएर अवैध रुपमा बिक्री गर्ने गरेको आरोप पनि छ ।

Advertisement

पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीमा पम्पहरूले निगमबाट बाहेक अन्य कसैबाट पनि पेट्रोलियम पदार्थ खरिद, भण्डार तथा बिक्री वितरण गर्न नहुने र निगमबाट स्वीकृति प्राप्त बिक्रीस्थल बाहेक अन्यत्रबाट पेट्रोलियम पदार्थ बिक्री गर्न नपाइने प्रावधान छ । तर, पूर्वी पहाडी जिल्लाका अरुण तेस्रो जलविद्युत आयोजनासहित ठूला निर्माण आयोजनाहरूमा ट्याङ्कर पठाएर तराईका पम्पहरूले तेल बिक्री वितरण गरिरहेका छन् ।

यसले नियम उल्लंघन मात्र भएको छैन, निगमलाई घाटा, राज्यलाई कर छली र पहाडी क्षेत्रका पम्पहरूलाई धराशायी बनाउँदै लागेको छ । पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभामा १७ वटा पम्पले पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्दै आएका छन् । यी पम्प व्यवसायीहरूको संस्था पहाडी पेट्रोलियम व्यवसायी एशोसियसनले धनकुटामा पत्रकार सम्मेलन गरेर तराईका पम्पहरूले पहाडी क्षेत्रमा नियमविपरीत गरिरहेको तेलको अवैध कारोबार तत्काल रोक्न र संलग्नहरूलाई कारबाही गर्न माग पनि गरेको छ ।

विराटनगर, इटहरी, वीरगन्ज र बाराको अमलेखगञ्ज सम्मका पेट्रोल पम्पहरूले सेटिङ्गको भरमा पहाडी जिल्लामा तेलको ट्याङ्कर पठाएर अवैध रुपमा तेल बिक्री गर्ने गरेको पहाडी पेट्रोलियम व्यवसायी एशोसिएसनका अध्यक्ष अनिष राई बताउँछन् । ‘पहाडी जिल्लाका आयोजनाहरूमा तराईका पम्पहरूले दैनिक कम्तिमा दुई ट्याङ्कर तेल अवैध रुपमा पठाइरहेका छन्,’ धनकुटाको पात्ले खोलास्थित जय श्री गोविन्द फ्यूल सेन्टरका सञ्चालकसमेत रहेका राई भन्छन्, ‘हामीले यो विषय आयल निगम र स्थानीय प्रशासनलाई पनि जानकारी गराएका छौं, तर यो क्रम रोकिएको छैन, कसैलाई कारबाही पनि भएन ।’

निर्माण आयोजनाहरूमा पेट्रोलियम पदार्थ बढी खपत हुने गर्छ । तेल बढी खपत हुने क्षेत्र अर्कैले अवैध रुपमा कब्जा गरेपछि स्थानीय पम्पहरूको कारोबार सुस्ताएर पम्पनै बन्द गर्नुपर्ने अवस्था सृजना भएको पेट्रोल पम्प व्यवसायी विजय शाह बताउँछन् । अवैध कारोबार गर्ने पम्पहरूलाई कारबाहीको माग गर्दै पहाडी पेट्रोलियम व्यवसायी एशोसियसनले गत चैत १ गते नेपाल आयल निगमको विराटनगरस्थित प्रदेश कार्यालयमा उजुरी दिएको थियो । उजुरीमा अवैध कारोबार गर्ने पम्पको नामसहित तेल ओसार्न प्रयोग भइरहेका गाडीको नम्बरसमेत उल्लेख छ ।

उनीहरूले यसरी भइरहेको तेलको अवैध कारोबारले निगमलाई वार्षिक ७ करोड ९२ लाख घाटा हुने, राज्यलाई तिर्नुपर्ने १ करोड २४ लाख ८३ हजार मुल्यअभिबृद्धि कर छली हुने तथ्यांकसहित निगमको ध्यानाकर्षण गराएका थिए । तर, केही सुनुवाई भएको छैन । नियमनकारी निकाय आयल निगम र स्थानीय प्रशासनलाई प्रमाणसहित जानकारी गराउँदा पनि अवैध कारोबार नरोकिएको भन्दै व्यवसायीहरु आक्रोशित छन् ।

आयल निगम र स्थानीय प्रशासनकै मिलेमतो एवं संरक्षणमा अवैध कारोबार भइरहेको उनीहरुको आशंका छ । अवैध कारोबार नरोकिए पहाडी जिल्लाका सबै पम्पहरु बन्द गरेर निगमलाई चावी बुझाउँने व्यवसायीहरुले चेतावनीसमेत दिएका छन् ।

निगम प्रमुखद्वारा वेवास्ता

आयल निगमको विराटनगरस्थित प्रदेश कार्यालयका प्रमुख अशोक शाह पहाडी जिल्लाका पेट्रोल पम्प व्यवसायीहरुले दिएको उजुरीको बिषयमा गम्भीर देखिएनन् । व्यवसायीहरुले अवैध कारोवारमा संलग्न पम्पको नाम र गाडी नम्बरसहित १८ दिनअघि दिएको उजुरीका बिषयमा उनले हालसम्म कुनै प्रकृया अघि बढाएका छैनन् ।

अवैध कारोवारको उजुरीलाई उनले वेवास्ता गरेका छन् । तेलको अवैध कारोबार गर्ने पम्पको नाम र ओसारपसार गर्ने ट्याङकरको नम्बरसहित व्यवसायीले १८ दिनअघि उजुरी दिएका रहेछन्, यो बिषयमा केही गर्नुभयो भन्ने संगालोखबरको जिज्ञासामा उनी भन्छन्, ‘उजुरीमा पम्पको नाम र गाडी नम्बर पनि छ र ? म हेर्छु ।’

पम्पहरूले आयल निगमबाट नभई भारतबाट छली गरेर अवैध रुपमा तेल ल्याउँने गरेको बिषयमा पनि उनी गम्भीर छैनन् ।

यस्तो छ उजुरी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!