- संगालोखबर सम्बाददाता
तमोर करिडोर । फाइल तस्वीर

धनकुटा । तमोर करिडोरको धनकुटा–पाँचथर सडकखण्डमा कालोपत्रेको काम थालिएको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो ।

सो सडकखण्ड ११० किलोमिटर छ । जसमध्ये मूलघाटदेखि हाङठुवासम्म ६६ किलोमिटर क्षेत्रलाई पहिलो र हाङठुवादेखि गणेशचोकसम्म ५४ किलोमिटरलाई दोस्रो खण्ड मानेर काम थालिएको हो । रौतहा क्षमादेवी (जेभी) निर्माण कम्पनीले पहिलो खण्डको सडक कालोपत्रे गर्ने जिम्मा लिएको छ । सो कम्पनीसँग २ अर्ब ४० करोडमा ठेक्का सम्झौता भएको छ । दोस्रो खण्डमा कालोपत्रेको काम एपेक्स निर्माण सेवाले गर्दैछ । सो कम्पनीसँग १ अर्ब २४ करोडमा कामको सम्झौता भएको हो ।

Advertisement

सडक कालोपत्रेका लागि सरकारले गत भदौमा टेण्डर खुलाएको थियो । सोही आधारमा निर्माण कम्पनीसँग सम्झौता भएर कालोपत्रेको गर्ने काम थालिएको हो । अहिले दुवै खण्डमा निर्माण कम्पनीले कालोपत्रेका लागि सडक चौडा गर्ने, नाली बनाउने, ढुंगा, गिट्टी, बालुवा संकलन गर्ने लगायत काम थालिसकेका छन् । सम्झौता अनुसार उनीहरुले दुई बर्षभित्र काम सक्नुपर्नेछ ।

सुनसरीको चतरादेखि ताप्लेजुङको टिपतालासम्म तमोर नदी आसपास क्षेत्र हुँदै तमोर करिडोर बनाइएको हो । यो सडक पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र तेह्रथुमका तमोर तटीय क्षेत्रका नागरिकलाई तराई झर्ने छोटो बाटो हो । मेची राजमार्गबाट पाँचथर, इलाम, झापा हुँदै प्रदेश १ को राजधानी विराटनगर पुग्न पाँचथरबाट कम्तिमा ९ घण्टा र ताप्लेजुङबाट १२ घण्टा यात्रा गर्नुपर्छ ।

तर, तमोर करिडोरबाट पाँचथरबासी ६ घण्टा र ताप्लेजुङबासी फुङलिङबाट ८ घण्टामै विराटनगर पुग्छन् । यो सडक कालोपत्रे भएपछि यात्रा समय अझै छोटिने भएकाले सो क्षेत्रबासी हर्षित छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!