- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटामा एमाले कार्यकर्तामाथि निर्घात कुटपिट भएको छ । गएराती करिब ८ बजे धनकुटा नगरपालिका–६ पाङसिङका ३० वर्षीय राजन कार्कीमाथि सल्लेरी बनस्थित आँखा अस्पताल नजिक कुटपिट भएको हो ।

कुटपिटबाट कार्कीको देब्रे आँखा माथि गम्भीर चोट लागेको छ । शरीरका अन्य भागमा पनि निलडाम छ । कुटपिटबाट घाइते कार्कीलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि शुक्रबार दिउँसो विराटनगर पठाइएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका दुई वटै क्षेत्र जितेपछि एमालेले बिहीबार धनकुटा बजारमा विजय जुलुस निकालेको थियो । एमाले कार्यकर्ता कार्की पनि सोही जुलुसमा सहभागि हुन आएका थिए । जुलुसबाट फर्किने क्रममा राती बाटो ढुकेर बसेका कांग्रेस नगर सभापति एवं ६ नं. वडाका निवर्तमान वडाध्यक्ष नरेश श्रेष्ठको समूहले आफूमाथि निर्घात कुटपिट गरेको कार्की बताउँछन् ।

‘जुलुसबाट फर्किने क्रममा पहिलेका वडाध्यक्ष नरेश श्रेष्ठसहित ४/५ जना बाटो ढुकेर बसेका रहेछन्, केही नभनी एकासी कुटपिट गरे,’ जिल्ला अस्पतालको बेडमा भेटिएका कार्कीले संगालोखबरसँग भने, ‘सँगै भएको साथी भागेर जोगियो, मलाई समातेर भकाभक हाने, बेहोस भएपछि छोडेछन् ।’ राजनसँगै स्थानीय तिलक कार्की पनि सँगै घर फर्किदै थिए । नरेशसहितको समूहले कुटपिट गर्ने क्रममा भागेर आफूले ज्यान जोगाएको तिलक बताउँछन् ।

कांग्रेसलाई भोट नहालेको निहुँमा कुटपिट भएको हुनसक्ने उनीहरु बताउँछन् । मतदानका दिन राजनकी आमा कांग्रेस समर्थकहरुसँग मतदान स्थल पुगेकी थिइन् । तर, राजनले आमालाई घाममा भोट हाल्न लगाएकाले सोही विषयमा नरेशसँग विवाद भएको र त्यही कारण रिसिबी साँधेर कुटपिट गरिएको हुनसक्ने तिलक बताउँछन् ।

प्रहरी र डाक्टरको कुरा बाझियो, प्रहरीले असहयोग गरेको पीडितको गुनासो

कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गर्न शुक्रबार बिहान करिब १० बजे पीडित पक्ष प्रहरी कार्यालय पुगेको थियो । तर, प्रहरीले असहयोग गरेर उजुरी दर्ता गर्न नमानेको पीडितको गुनासो छ । घाउजाँच रिपोर्ट आउँन वाँकी रहेको र रिपोर्ट आएपछि मात्र उजुरी दर्ता गर्ने भन्दै प्रहरीले शुक्रबार साँझसम्म पनि उजुरी दर्ता गरेको छैन ।

शुक्रबार साँझसम्म पनि घाउजाँच रिपोर्ट नआइपुगेकाले उजुरी दर्ता नगरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लक्ष्मीराज अधिकारीको तर्क छ । तर, जिल्ला अस्पतालबाट दिउँसो १२ बजे नै प्रहरीले घाउजाँच रिपोर्ट लगिसकेको जिल्ला अस्पतालका डाक्टर प्रदिप खतिवडा बताउँछन् । उनी भन्छन् ‘मैले १२ बजे नै घाउजाँच रिपोर्ट साइन गरेर प्रहरीलाई दिइसकेको छु, प्रहरीले रिपोर्ट लगिसकेको छ ।’

उजुरी दर्ता गरेपछि कानुनी रुपमा कारबाही प्रकृया अघि बढ्ने भएकाले प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गरेर पीडकलाई उन्मूक्ति दिन खोजेको पीडित पक्ष बताउँछन् ।

निराधार आरोप लगाएर फसाउँन खोजियो: श्रेष्ठ

यता, कुटपिटको आरोप लागेका श्रेष्ठले निराधार आरोप लगाएर आफुलाई फसाउँन खोजिएको दावी गरेका छन् । घटना भएको भनिएको समयमा आफु सो स्थानमा नरहेको र सो समयमा पार्टीको आन्तरिक छलफलमा भएकाले कुटपिटमा आफ्नै कुनै संलग्नता नरहेको उनको दावी छ ।

 ‘यो आरोपमा कुनै सत्यता छैन, कुटपिटमा मेरो कुनै संलग्नता छैन, राजनीतिक इश्यू बनाएर मलाई फसाउँन खोजिदैछ,’ श्रेष्ठले भने, ‘नखाएको बिष लाग्दैन, यो कुरा प्रमाणित हुनै सक्दैन, यदि प्रमाणित भयो भने म जस्तो सुकै सजाय भोग्न पनि तयार छु ।’

 कुटपिटमा कांग्रेसका अन्य नेता कार्यकर्ताको पनि संलग्नता नरहेको श्रेष्ठको दावी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!