- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाबाट प्रतिनिधि सभा सदस्यका मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले मतदान गरेका छन् । नेकपा एमालेका उम्मेद्वार राजेन्द्र राई, गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार सुनिल बहादुर थापा र स्वतन्त्र उम्मेद्वार हेमराज भण्डारीले आज बिहान मतदान सुरु भएलगत्तै मत खसालेका हुन् ।

Advertisement

एमाले उम्मेद्वार राई र कांग्रेस उम्मेद्वार थापाले पाख्रीवासबाट मतदान गरेका छन् भने स्वतन्त्र उम्मेद्वार भण्डारीले चौविसे गाउँपालिकाबाट मत खसालेका हुन् । पाख्रीवास नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट एमाले उम्मेद्वार राईले मतदान गरे । उनले मतदान सुरु भएलगत्तै बिहान करिब ७ः१५ बजे मतदान गरेका थिए ।

त्यस्तै, कांग्रेस उम्मेद्वार थापाले पाख्रीवास नगरपालिका–८ मुगास्थित राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मत खसालेका हुन् । यता, स्वतन्त्र उम्मेद्वार भण्डारीले चौविसे गाउँपालिका–३ स्थित कुरुले तेनुपा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

१ लाख १६ हजार ९९१ मतदाता रहेको धनकुटामा मतदानका लागि ११९ स्थानमा १६४ मतदान केन्द्र तोकिएको छ । निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना गरी २ हजार ४९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदान केन्द्रहरूमा १ हजार ३ सय ४ जना कर्मचारी खटाइएको छ ।

एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्य निर्वाचित हुने धनकुटामा १८ उम्मेद्वार चुनावी दौडमा छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुन्नका लागि धनकुटासहित देशभर बिहान ७ बजेबाट मतदान सुरु भएको हो । साँझ ५ बजेसम्म मतदान जारी रहनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!