सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा मानव अधिकार उल्लंघनका घटना बढेका छन् । गत बर्षको तुलनामा यो बर्ष करिब दोब्बरको संख्यामा मानव अधिकार उल्लंघनका घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कले देखाएको छ ।

Advertisement

इन्सेकले नेपाल मानव अधिकार बर्ष पुस्तक–२०२२ का लागि शनिबार धनकुटामा गरेको बार्षिक पूर्व समिक्षा कार्यक्रममा २०७७ पुषदेखि हालसम्म जिल्लामा ५७ वटा मानव अधिकार उल्लंघनका घटना भएको जानकारी दिइएको हो । इन्सेकको तथ्याङ्क अनुसार बिगत एक बर्षको अवधिमा २ जनाको हत्या, १ जनामाथि कुटपिट, ३२ महिलामाथि घरेलु हिंसा र २२ जना महिला तथा बालिकामाथि बलात्कार भएको छ ।

छथरजोरपाटी–३ ताङ्खुवा बस्दै आएका नेत्रबहादुर कडुवाललाई प्रहरीले कुटपिट गरेको, साँगुरीगढी गाउँपालिका–६ का खड्गबहादुर तामाङले १३ बर्षीया बालिकामाथि यौन दुब्र्यबहार गरेको, धनकुटा–७ बस्ने बिना राईलाई श्रीमानले अपहेलना गरी घरेलु हिंसा गरेको र साँगुरीगढी–८ की संगिता राईलाई स्थानीय धनकुमार राईले हत्या गरेको घटनालाई इन्सेकले प्रतिनिधिमूलक घटनाको रुपमा उल्लेख गरेको छ ।

यस अघि गत बर्ष जिल्लामा मानव अधिकार उल्लंघनका ३० वटा घटना भएको इन्सेकको तथ्यङ्क छ । गत बर्षको तुलनामा बिगत एक बर्षको अवधिमा २७ वटा मानव अधिकार उल्लंघनका घटना बढेर ५७ पुगेको इन्सेक प्रतिनिधि इश्वर थापाले जानकारी दिए ।

कार्यक्रममा धनकुटाका प्रहरी निरीक्षक कासीराम रेग्मी, गैर सरकारी संस्था महासंघका अध्यक्ष मिन सुवेदी, इन्सेकका पूर्व जिल्ला अध्यक्ष निलबहादुर थापा, पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राई, बार एशोसिएसनका अध्यक्ष ठगिन कुमार राई लगायतले मानव अधिकार उल्लंघनका घटनाको समिक्षा गर्दै यस्ता घटना न्यूनिकरणमा सबैले भूमिका खेल्नु पर्नेमा जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!