धनकुटा । नेकपा एमाले धनकुटाले सोमबार सहिदभूमि गाउँपालिकाको छिन्ताङ्गमा गर्न लागेको सहिद स्मृति सभाको तयारी पुरा भएको छ । एमालेले आइतवार जिल्ला पार्टी कार्यालय सिरवानीमा पत्रकार सम्मेलन गरेर सभाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
बाम लोकतान्त्रिक आन्दोलनका क्रममा २०३६ सालमा राज्यको तर्फबाट हत्या गरिएका १६ जना सहिदहरुको ४३ औं स्मिृति दिवसको अवसरमा एमाले धनकुटाले सभा आयोजना गरेको हो । सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउँदैछन् । कार्यक्रममा एमालेका अन्य केन्द्रिय नेताहरु पनि सहभागि हुँनेछन् ।
सभाको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले नेताहरु गोपाल गुरागाई, निरन राई, नैन विश्वकर्मा, भेषराज कटेल लगायतले सभालाई भब्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउँन सबैमा आग्रह गरे ।
यता, एमाले धनकुटा अध्यक्ष राजेन्द्र राईले आइतवार प्रेस विज्ञप्ति जारी गरेर सभामा जिल्लाका सात पालिकाका ६० वटै वडाबाट १० हजार भन्दा बढी मानिसको उपस्थिती हुँने दावी गरेका छन् । एमालेले हरेक बर्ष छिन्ताङ्गमा सहिद स्मिृति सभा गरेर सहिदहरुको संझना गर्दै आएको छ । सहिद स्मृति दिवसको अवसरमा सहिदभूमि गाउँपालिकाले सोमबार सार्वजनिक विदा पनि दिएको छ ।