धनकुटा । भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले धनकुटाको महालक्ष्मी नगरपालिकालाई दैविक प्रकोप व्यवस्थापनमा प्रयोग गरिने सूचना तथा सञ्चारका सामाग्री प्रदान गरेको छ । यूएसएआइडीको सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाजले नगरपालिकाको स्थानीय आपतकालिन प्रतिकार्य सञ्चालन केन्द्रलाई ६ प्रकारका सामाग्री प्रदान गरेको हो ।
विपत्तीका बेला भर्चुअल माध्यमबाट मिटिङ्ग बस्नका लागि उपयोगी डिजिटल स्मार्ट बोर्ड, ५५ इन्चको टिभी, भ्वाइस इनेबल क्यामेरा, सेन्ट्रलाइज माइक्रोफोन, कम्युनिकेशन डिभाइस र दुईवटा ल्यापटप प्रदान गरिएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाजका निर्देशक डा.गणेश कुमार जिमीले एक कार्यक्रमकाबीच महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपाललाई सामाग्र्री हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा भूकम्प प्रविधि राष्ट्रिय समाजका निर्देशक जिमीले देशभरका ७५३ वटा पालिकामा पाँच वटा छनौट गर्दा महालक्ष्मी नगरपालिका पनि परेकाले सामाग्री प्रदान गरिएको बताए । उनले यसअघि सुर्खेतको सिम्टा गाउँपालिका, तनहुँको व्यास नगरपालिका, कैलालीको कैलारी गाउँपालिका र बाँकेको बैजनाथ गाउँपालिकालाई सामाग्री प्रदान गरिएको जानकारी दिए ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख नेपालले विपत व्यवस्थापनका लागि उपयोगी सामाग्री प्रदान गरेको भन्दै भूकम्प प्रविधि राष्ट्रिय समाजलाई धन्यवाद दिए । नगर प्रमुख नेपालले विपतका घटनाबाट नगरपालिका क्षेत्रमा हुँने भौतिक र मानवीय क्षतिलाई न्यूनिकरण गर्न नगरपालिकाले सकेसम्म भूमिका निर्वाह गरिरहेको जानकारी दिए ।