संगालोखबर सम्वाददाता
फाइल तस्वीर

धनकुटा । धनकुटाबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–९ मुलघाटबाट सोमबार राती करिब ९ बजे एक हजारका २८ वटा नक्कली नोटसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी मुलघाटबाट सवारी चेकजाँचका लागि राजमार्गमा खटिएको प्रहरी टोलीले नक्कली नोटसहित युवाहरुलाई नियन्त्रणमा लिएको विश्वस्त स्रोतले संगालोखबरलाई जानकारी दिएको छ । तर, जिल्ला प्रहरी कार्यालयले भने यो बिषयमा बताउँन चाहेको छैन । नक्कली नोटसहित मानिस पक्राउ परेको विषयमा जिज्ञासा राख्दा जिल्ला प्रहरी प्रमुख एसपी नकुल पोखरेलले यो बिषयमा अहिले केही पनि नबोल्ने बताए । ‘यो बिषयमा केही कुरा चै भएको हो । तर, मैले अरु थप केही पनि बताइन, डिटेल आइसकेपछि भोलि पर्सीसम्ममा बताउँछु,’ एसपी पोखरेलले संगालोखबरसँग भने ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिपक कुमार रायले पनि यो बिषय बताउँन चाहेनन् । एसपी र डिएसपी दुबैले नक्कली नोटसहित मानिस पक्राउ परेको वा नपरेको नै खुलाएनन् । यता, नक्कली नोट बरामद भएको क्षेत्रका हिसावले प्रहरीले धनकुटा–९ का वडाध्यक्ष सन्दिप रायमाझीलाई मंगलबार सर्जिविन, मुचुल्काको कागजमा हस्ताक्षर गराएको पाइएको छ । नक्कली नोटसहित ल्याएर प्रहरीले आफुलाई हस्ताक्षर गराएको वडाध्यक्ष रायमाझीले बताए । प्रहरीले नबताएकाले पक्राउ परेकाहरु को हुन् र उनीहरुविरुद्धको कारबाही प्रकृया के हुँदैछ भन्ने खुलेको छैन ।

स्रोतका अनुसार दुई युवा धनकुटातर्फबाट राती मोटरसाइकलमा मुलघाटतर्फ जाँदै थिए । सोही क्रममा मुलघाटको चेकपोष्टमा चेकजाँच गर्दा उनीहरुको व्यवहार संकास्पद पाइएपछि प्रहरीले उनीहरुमाथि ‘केरकार’ थाल्यो । ‘प्रहरीसँग उनीहरुले पारि सिमसुवामा मरिमराउ परेको हुँनाले पैसा पुर्याउँन हिडेको बहाना गरे । उनीहरुको व्यवहार संकास्पद थियो,’ स्रोतले संगालोखबरसँग भन्यो, ‘प्रहरीले खै पुर्याउँन लगेको पैसा हेरौत भनेर माग्यो, उनीहरुले पैसा देखाए । तर, पैसा अलिक फरक खाल्को लागेर चेकजाँच गर्दा नक्कली नोट रहेको खुल्यो र उनीहरु दुबै जनालाई प्रहरीले नियन्त्रणमा लियो ।’

स्रोतका अनुसार ती नोटहरु छाम्दा अलिक नरम छन् । साइज उत्रै भएपनि हेर्दा अलिक फरक जस्तो देखिन्छन् । कतिपय नोटमा लोगो अलिक फरक र कतिपयमा नोटको नम्बर पनि एउटै रहेको स्रोतले संगालोखबरलाई जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!