धनकुटा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले तयार गरेको स्मारिका विमोचन गरिएको छ । फोनिजको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा स्मारिका विमोचन गरिएको हो ।
राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राई, धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली र जिल्ला अध्यक्ष नगेन्द्र राईले संयुक्त रुपमा स्मारिका विमोचन गरेका हुन् ।
यसैबीच फोनिजले ‘आदिवासी जनजाति क्रियाशिल पत्रकारिता पुरस्कार’ स्थापना गर्न सहयोग गरेवापत आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका निवर्तमान अध्यक्ष इन्द्र सारु मगर र समन्वय परिषद सदस्य ज्ञानवहादुर गुरुङलाई सम्मान गरेको छ । दुवै जनालाई सम्मान पत्र, खादा र टोपी लगाइदिएर सम्मानित गरिएको हो ।
२०७३ सालमा तेश्रो जिल्ला अधिवेशनका बेला पुरस्कार स्थापना गर्न मगर र गुरुङले सहयोग गरेको फोनिजका जिल्ला अध्यक्ष सन्तबीर लामाले बताए । उनीहरुले हरेक तीन वर्षमा हुँने अधिवेशनमा पाँच हजार राशी बराबरको नगद पुरस्कार प्रदान गर्न जीवनभर सहयोग गर्ने सम्झौता गरेका छन् ।
सो अवसरमा फोनिज धनकुटा शाखाका अध्यक्ष लामाले धनकुटामा क्रियाशिल आदिवासी जनजाति पत्रकारहरुलाई आगामी दिनमा तप हौसला प्रदान गर्न सहयोग पुर्याउँने उद्धेश्यले चालु आर्थिक बर्षमा १ लाख रुपयाँको अक्षयकोष निर्माण गर्ने घोषणा गरेका छन् ।

















