रासस

सोलुखुम्बु । कर्मचारीहरुमा कोरोना संक्रमण बढ्दै गएपछि सोलुखुम्बुका सरकारी कार्यालयहरु धमाधम बन्द हुँन थालेका छन् । जिल्ला प्रशासन कार्यालयको सेवा बन्द भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

Advertisement

निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको छ । कार्यालयको नागरिकता शाखाका दुई कर्मचारीमा सङ्क्रमण पुष्टि भएको भन्दै उनले अन्य केही कर्मचारीमा पनि सामान्य लक्षण देखिएकाले परीक्षणको तयारी भइरहेको बताइन् । मङ्गलबार सूचना जारी गर्दै सेवा बन्द हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा मागेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै कार्यालयमा सेवाग्रहीको भीड बढ्दा जोखिम पनि बढेको कार्यालयले जनाएको छ । दैनिक १५ देखि २० वटासम्म नेपाली नागरिकता लिने र सोही संख्यामा राहदानी लिन कार्यालयमा सेवाग्राही आउने गरेको निमित्त प्रमुख जिल्ला अधिकारी खतिवडाले बताइन् । यस्तै जिल्ला मालपोत कार्यालय सोलुखुम्बुको पनि सेवा बन्द गरिएको छ । यही साउन २२ गते एक सूचना जारी गर्दै दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । साउन ३१ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको मालपोत अधिकृत पदम अर्यालले बताए । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला अस्पताल फाप्लुमा अहिले बिरामीको चाप बढेको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् । जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले दिएको जानकारी अनुसार अहिलेसम्म एक हजार ७०७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ४६३ निको भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!