संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरस्थित १ नं. प्रदेश प्रहरी तालिम केन्द्र रानीमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी भेटिएका छन् । नक्कली परिक्षार्थी फेला परेपछि घटनामा संलग्न धनकुटा र भोजपुरका तीन÷तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का १९ बर्षीय सरोज राई, सोही स्थानका २७ बर्षीय राजकुमार राई, धनकुटाको सहिदभूमि गाउँपालिका–३ का २१ बर्षीय खपाङ राई, भोजपुरको पौवादुङ्मा गाउँपालिका–६ का २३ बर्षीय सुर्य राई, सोही स्थानका १९ बर्षीय सागर राई र २२ बर्षीय संगम राई छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भोजपुरको पौवादुङ्मा–६ का सुर्यले प्रहरी जवानमा भर्ना गराईदिन्छु भनेर गाउँकै संगम र सागरबाट जनही १ लाख १८ हजार र धनकुटाको साँगुरीगढी–८ का १९ बर्षीय सरोज राईबाट २ लाख पैसा लिएका थिए । पैसाको चलखेलमा नक्कली परीक्षार्थी खडा गरेको पाइएपछि घटनामा संलग्नहरुलाई प्रदेश प्रहरी तालिम केन्द्र रानीले पक्राउ गरी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ ।

उनीहरुविरुद्ध शिक्षा ऐन २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद थप गरेर घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!