संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–९ स्थित हिले–छिन्ताङ्ग सडक खण्डबाट प्रहरीले बुधबार दिउँसो अबैध काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । चेकपोइन्ट राखेर सवारी साधन चेकजाँच गर्ने क्रममा अबैध काठ लिएर आएको प्र.१–००२–००३ त १५९४ नम्बरको ट्याक्टर प्रहरीले दिउँसो करिब २ बजे नियन्त्रणमा लिएको हो ।

Advertisement

ट्याक्टरमा अबैध रुपमा ल्याइएको सालको काठको १० वटा चौकट र ६ वटा ढोका गरी २९.८३ चिरान क्यू.बी.फिट काठ बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएस्पी दिपक कुमार रायले जानकारी दिए । ‘ट्याक्टरको डालामा बाँधेर काठलाई माथिबाट त्रिपालले छोपी लुकाएर ल्याएको रहेछ,’ डिएस्पी रायले संगालोखबरसँग भने, ‘चेकजाँच गर्दा अबैध काठ भएको पत्ता लागेपछि नियन्त्रणमा लिएका छौं ।’

काठ मात्र लैजादा पक्राउ पर्ने संभावना बढी हुँने भएकाले प्रहरीको आँखा छल्न काठबाट झ्याल, ढोका बनाएर ट्याक्टरमा त्रिपालले छोपी लुकाएर लैजादै गरेको अवस्थामा काठ नियन्त्रणमा लिइएको डिएस्पी रायले बताए । अबैध काठ फेला परेपछि प्रहरीले ट्याक्टर र चालक सहिदभूमि गाउँपालिका–४ का ३२ बर्षीय संजय राईलाई नियन्त्रणमा लिएको छ ।

काठ कहाँबाट कता लैजादै गरेको खुल्न वाँकी छ । यो बिषयमा अनुसन्धान हुँदैछ । काठसहितको ट्याक्टरलाई कारबाहीका लागि डिभिजन बन कार्यालय धनकुटामा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक राई जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!