संगालोखबर सम्बाददाता

विराटनगर । पूर्वकै ठूलो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका तीन प्राध्यापक र दुई कर्मचारी सम्मानित भएका छन् । शनिबार क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसरमा क्याम्पसमा आयोजित एक कार्यक्रमकाबीच प्राध्यापक डा.घनश्याम श्रीवास्तव, रामनारायण दास र माधवप्रसाद रेग्मी तथा कर्मचारीहरु सोनु निरौला र जलधर कामतलाई सम्मान गरिएको हो ।

Advertisement

उनीहरुलाई पूर्वाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार एवम् अर्थशास्त्री डा.भेषप्रसाद धमला, क्याम्पस प्रमुख डा.बाबुराम तिमल्सिना लगायतले सम्मान गरेका छन् । कार्यक्रममा अर्थशास्त्री डा.भेषप्रसाद धमलाले मोरङ क्याम्पसमा आफू सहायक प्रमुख भएर काम गर्दा चौतर्फी हित हुने काम गर्न कुनै काम गर्न नछुटाएको भन्ने लागिरहेकोमा वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम गर्न भने छुटेको बताए । उनले महेन्द्र मोरङले शिक्षक र कर्मचारी सम्मान गर्ने कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

पूर्व क्याम्पस प्रमुख सरोज चौधरीले उत्कृष्ट प्राध्यापक एवम् कर्मचारीका रुपमा पुरस्कृत एवम् सम्मानित सबैको बारेमा कुनै टीकाटीप्पणी गर्ने ठाउँ नभएको बताउँदै छनोट समितिको कामलाई प्रशंसा गरे । स्नातकोत्तर क्याम्पस विराटनगरका प्रमुख महेश खत्रीले अन्य क्याम्पसले पनि वार्षिकोत्सव एवम् सम्मान कार्यक्रम गर्ने महेन्द्र मोरङको कार्यलाई अनुशरण गर्नु पर्नेमा जोड दिए ।

क्याम्पस प्रमुख डा.तिमल्सिनाले महेन्द्र मोरङमा हाल मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षाशास्त्र गरी चार संकायमा २६ वटा कार्यक्रम रहेको र स्नातकोत्तर कार्यक्रम मात्रै ६ वटा रहेको जानकारी दिए । उनका अनुसार रसायनशास्त्र र प्राणीविज्ञानमा दुई दर्जन बढीले विद्यावारिधि गर्दै गरेको बताए । विक्रम सम्वत् २०१२ साउन १६ गते स्थापना भएको यो क्याम्पसमा पछि राजा महेन्द्रले नवनिर्मित भवन उद्घाटन गरेपछि क्याम्पसको नाममा महेन्द्र थपिएको हो ।

डा.तिमल्सिना क्याम्पस प्रमुख भएपछि २०७५ सालदेखि क्याम्पसले वार्षिकोत्सव मनाउन सुरु गरी २०७६ सालदेखि उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मानित गर्न थालेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!