धनकुटा । कोरोना संक्रमण पुष्टि भई धनकुटाको औद्योगिक ग्रामस्थित आइशोलेशनमा रहेका स्थानीय तमोर भ्याली बोडिङ्ग स्कूलका प्रिन्सिपल दुर्गा लुईटेलले कोरोना संक्रमितहरुलाई हर्लिक्स र विस्कुट वितरण गरेर आइशोलेशनमै जन्मदिन मनाएका छन् । आफ्नो ४६ औं जन्मदिनको अवसरमा प्रिन्सिपल लुईटेलले कोभिड आइसोलेशनमा रहेका २१ जना कोरोना संक्रमितलाई हर्लिक्स र विस्कुट वितरण गरेका हुन् ।
अन्य बर्षको जस्तो परिवार, आफन्त र साथीभाईहरुसँग जन्मदिन मनाउँन नपाएपनि आफु जस्तै संक्रमितहरुलाई एक/एक बट्टा हर्लिक्स र एक/एक प्याकेट विस्कुट वितरण गरी सबैलाई स्वास्थ्य लाभको कामना गर्दै जन्मदिन मनाएको प्रिन्सिपल लुईटेलले बताए । तमोर भ्याली बोडिङ्ग स्कूलका सञ्चालकसमेत रहेका प्रिन्सिपल लुईटेललाई ८ दिनअघि कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएपछि उनी अहिले औद्योगिक ग्रामस्थित आइशोलेशनमा बस्दै आएका छन् । पछिल्लो केही साता यता धनकुटामा कोरोना संक्रमण घटेपनि केही दिन यता संक्रमण दर निकै बढ्न थालेको छ ।
















