
सुनसरी । सुनसरीको धरानबाट प्रतिबन्धित औषधिसहित धनकुटाका एक युवा पक्राउ परेका छन् । धरान–८ तिनकुनेबाट प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का २१ बर्षीय सुजन लिम्बुलाई पक्राउ गरेको हो ।
अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले गएराती करिब १० बजे प्रतिबन्धित औषधिसहित लिम्बुलाई नियन्त्रणमा लिएको हो । इटहरीबाट धरानतर्फ पैदल हिडेर आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको झोलाबाट प्रतिबन्धित औषधि बरामद भएको प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रतिबन्धित औषधि ट्रमाडोल–६६० ट्याबलेट र स्पासपेन–७७० ट्याबलेट बरामद भएको छ । पक्राउ परेका लिम्बूलाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखेर प्रहरीले उनको कारोवारका विषयमा अनुसन्धान गरिरहेको छ ।















