धनकुटा । एनएलजी इन्स्योरेन्स कम्पनीले कोरोना संक्रमण पुष्टि भएका धनकुटाका एक सञ्चारकर्मीलाई वुधबार कोरोना विमा दावी भुक्तानी गरेको छ । रेडियो भेडेटारमा कार्यरत प्राविधिक सुनिता राईलाई कोरोना विमा वापत एक लाख नगद प्रदान गरिएको हो ।
प्राविधिक राईलाई यसअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण मुक्त भएपछि एक कार्यक्रमको आयोजना गरी उनलाई विमा दावी भुक्तानी गरिएको हो । कार्यक्रममा जनज्योति बचत तथा ऋण सहकारीका अध्यक्ष विकास घिमिरेले सञ्चारकर्मी राईलाई विमा दावी भुक्तानी बापतको चेक हस्तान्तरण गरेका हुन् ।
जनज्योति बचत तथा ऋण सहकारी संस्थाले धनकुटाका ३३ जना सञ्चारकर्मीको एनएलजी इन्स्योरेन्समा कोरोना बिमा गराएको थियो । बिमा दावी भुक्तानी कार्यक्रममा बोल्दै पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईले जनज्योति सहकारीले कोरोना महामारीका बेला जिल्लामा क्रियासिल पत्रकारहरुको कोरोना बिमा गरेर सहयोग पुर्याएको भन्दै सहकारीका अध्यक्ष घिमिरेलाई धन्यवाद ज्ञापन गरे ।
धनकुटा नगरपालिका–३ का वडाध्यक्षसमेत रहेका सहकारी अध्यक्ष घिमिरेले अग्रपंतिमा खटिने पत्रकारहरुलाई सहयोग पुर्याउँन कोरोना विमा गराईएिको भन्दै आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्राविधिक राई कोरोना दावी भुक्तानी पाउँने धनकुटाकी पहिलो सञ्चारकर्मी हुन् । हालसम्म जिल्लाका सात सञ्चारकर्मीमा कोरोना संक्रमण पुष्टि भएको पत्रकार महासंघ धनकुटाले जनाएको छ ।