संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटामा बिहिबार एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पाख्रीवास नगरपालिका–१० चुङवाङ्गकी ५५ बर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि घरमै ‘होम आइसोलेशन’ बसेकी उनको दिउँसो करिब १ बजे मृत्यु भएको पाख्रीवास नगरपालिकाका मेयर बिर्षबहादुर राईले बताए । पीसीआर परीक्षण गर्दा उनमा ८ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उनी घरमै बसेकी थिइन् । गम्भीर स्वास्थ्य समस्या नदेखिएकी उनको अचानक मृत्यु भएको बताइएको छ । मृत्यु पश्चात नेपाली सेनाको टोलीले मृतकको शव व्यवस्थापन गरेको छ ।

Advertisement

स्थानीयबासी एवं पाख्रीवास नगरपालिकाका उपमेयर देवकला पौडेल तिम्सिनाका अनुसार मृतक महिलाका श्रीमान् पनि कोरोना संक्रमित छन् । श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण देखिएपछि उनीहरु होम आइशोलेशनमा बसेका हुन् । श्रीमतीको मृत्यु भएपनि श्रीमानको अवस्था भने सामान्य रहेको उपमेयर तिम्सिनाले जानकारी दिइन् ।

योसँगै धनकुटामै स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भई मृत्यु भएका संक्रमितको संख्या १५ पुगेको छ । जिल्ला बाहिर स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका थप सात जनाको पनि मृत्यु भएकाले धनकुटाका कोरोना संक्रमित मृतकको संख्या २२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले जानकारी दिए ।

हेलचेक्राईले कोरोनाको जोखिम बढेको गुनासो

पाख्रीवास नगरपालिका–१० चुङवाङ्गमा पछिल्लो समय कोरोना संक्रमण फैलने क्रम बढेको छ । बिहिबार मृत्यु हुँने कोरोना संक्रमितको घर आसपास क्षेत्रमा पनि संक्रमित निकै छन् । तर, पर्याप्त सावधानी नअपनाइदा कोरोनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन् ।

चुङ्गवाङका एक स्थानीयले संगालोखबरलाई दिएको जानकारी अनुसार स्थानीय भारती माध्यमिक विद्यालय आसपास क्षेत्रमा निजी घरहरु निर्माण भइरहेका छन् । त्यहाँ घर निर्माणमा खटिने कामदारहरु कोरोना संक्रमण फैलिएको बस्तीका छन् । गाउँमा निषेधाज्ञा उल्लंघन गरी स्वास्थ्य सावधानीमा हेलचेक्राई भइरहेकाले थप संक्रमणको जोखिम बढेको उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!