पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ सुङनिमाचौकमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।
बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङतर्फ जादै गरेको प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स सडकबाट करिव १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा याङवरक गाउँपालिका–२ का ५० बर्षीया ममता राई, १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा–३ का ५५ बर्षीय डोड कुमार राई घाइते भएका थिए ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान पौने ४ बजे ममताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते सुब्बा र राई उपचाररत छन् ।
एम्बुलेन्स चालक हिलिहाङ–२ सिहापुर का २८ बर्षीय बिरेन्द्र धिताललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।















