विराटनगर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको शनिवार निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि झापाको बिर्ता सिटी अस्पतालमा उपचार गराइरहेका भण्डारीको दिउँसो करिब २ बजे निधन भएको हो ।
स्वास्थ्यमा समस्या बढेपछि भण्डारीलाई बैशाख २८ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । डाक्टरले उनको स्वास्थ्यमा सुधार हुँने संभावना नरहेको भन्दै घर लैजान भनेका थिए । अस्पतालबाट घर फर्काउँदै गर्दा बाटोमै उनको निधन भएको पत्रकार महासंघका प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरेले बताए ।
कोरोनाको दोस्रो लहर सुरु भए यता प्रदेश १ मा दुई जना पत्रकारले कोरोनाका कारण ज्यान गुमाएका छन् । यसअघि शुक्रबार सुनसरीका अग्रज सञ्चारकर्मी चन्द्र न्यौपानेको निधन भएको थियो । दोस्रो लहर यता प्रदेश १ मा ७० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ३५ जना निको भएका छन् भने वाँकी अधिकांश होम आइसोलेशनमा रहेको पत्रकार महासंघ प्रदेश समितिले जनाएको छ ।
















