रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटामा थप कडाई गर्दै ११ दिन निषेधाज्ञा लम्ब्याइएको छ । शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जेठ २६ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेका हुन् ।

Advertisement

कोरोना संक्रमण बढ्दै गएपछि यसअघि बैशाख ३१ गतेदेखि जेठ १५ गतेसम्म लागु हुँने गरी १५ दिनका लागि निषेधाज्ञा घोषणा गरिएको थियो । निषेधाज्ञा अवधि सकिन एक दिन वाँकी छदै शुक्रबार पुनः थप ११ दिनका लागि निषेधाज्ञा घोषणा गरिएको हो । धनकुटा जिल्लाभर निषेधाज्ञा लागु भएको शुक्रबार १४ दिन पुरा भएको छ । तर, संक्रमण घट्नुको सट्टा झन–झन बढिरहेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएकाले थप कडाई गर्दै निषेधाज्ञाको अवधि बढाइएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

धनकुटामा निषेधाज्ञा लगाइएपनि कोरोना संक्रमण त झन–झन बढिरहेको छ नि भन्ने संगालोकर्मीको जिज्ञासामा उनले निषेधाज्ञाले कोरोना संक्रमण घटाउँन नसकेपनि जति बढ्ने संभावना थियो त्यसमा कमी आएको दावी गरे । ‘निषेधाज्ञामा संक्रमण झन बढेको त यथार्थ हो । तर, निषेधाज्ञा लगाइएको थिएन भने यो भन्दा निकै बढ्थ्यो । निषेधाज्ञाले त्यो चै कम गरेकै हो,’ प्रजिअ दाहालले भने, ‘अहिले सरकारले कोभिड अध्यादेश पनि जारी गरेको छ । अब चै हामीले थप कडाई गर्छौ । पसल खोल्ने समय कटौती गरेका छौ । सवारी कुदाउँनेलाई ५ हजारसम्म जरिवाना लिन्छौ ।’

कोभिड अध्यादेश २०७८ मा विना मास्क हिड्नेलाई पटकैपिच्छे १ सय, निषेध गरिएको क्षेत्रमा आवतजावत गर्नेलाई पटकैपिच्चे २ सय, विनापास दुई पाङ्ग्रे सवारी कुदाउँनेलाई २ हजार र चार पाङ्ग्रे सवारी कुदाउँनेलाई ५ हजारसम्म जरिवाना गराउँने प्रावधान छ । धनकुटामा पनि निषेधाज्ञा उल्लंघन गर्नेलाई सोही अनुसार कारबाही गरिने प्रजिअ दाहालले संगालोखबरलाई जानकारी दिए ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ । बजार पसल खोल्न पाइनेछैन । औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरु मात्र खुल्ला रहनेछन् । खाद्यान्न, फलफुल, तरकारी, पानी, माछा, मासु, अण्डा, दुग्धजन्य पदार्थ, ग्याँस लगायत दैनिक उपभोग्य बस्तुका पसलहरु बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खुल्ला गर्न पाइनेछ । दैनिक उपभोग्य बस्तुका पसलहरु यसअघि बेलुका ४ बजेदेखि ६ बजेसम्म पनि खोल्न दिइदै आएको भएपनि अब त्यो समय कटौति गरिएको हो ।

होटल, रेष्टुरेन्ट, खाजा तथा चिया पसलहरु पूर्ण रुपमा बन्द हुँनेछन् । भेडेटार, मुलघाट, धनकुटा, हिले, जोरपाटी र सिधुवा बजार क्षेत्र बाहेक हाइवेमा पर्ने होटल तथा रेष्टुरेन्ट भने विहान ८ बजेदेखि वेलुका ८ बजेसम्म खोल्न पाइनेछ । सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । एम्बुलेन्स, शव बाहन, दमकल, फोहोरमैला व्यवस्थापनमा प्रयोग हुँने गाडी, खाद्यान्न, तरकारी, फलफुल, माछा, मासु, अण्डा, दुग्धजन्य पदार्थ, ग्याँस, पशु आहार, कुखुराको दाना, फलफुलका विरुवा, इन्धन, अस्पताल र आइसोलेशनमा प्रयोग हुँने स्वास्थ्य सामाग्री र निर्माण समाग्री वोकेका सवारी साधन भने सञ्चालन हुँन पाउँनेछन् । समाचार संकलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीहरुले सूचना विभागले दिएको पास वा सञ्चार सस्थाले दिएको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउँनेछन् ।

अति आवश्यकमा पर्ने सरकारी कार्यालय तथा सार्वजनिक निकायले न्यून संख्यामा कर्मचारी राखेर सेवा सञ्चालन गर्नुपर्नेछ भने अति आवश्यक सेवाभित्र नपर्ने कार्यालय बन्द हुँनेछन् । बैंक तथा वित्तिय संस्था सिमित कर्मचारी मात्र राखेर हप्ताको तीन दिन सोम, वुध र शुक्रबार विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । विवाह, व्रतवन्ध र मलामीमा २५ जना भन्दा बढी सहभागि हुन पाइनेछैन । निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाहीमा कडाई गरिने प्रशासनले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या ५ सय नाघ्यो

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार शुक्रबारसम्म धनकुटाका ४ हजार ३८ जनाको पीसीआर परीक्षण गर्दा ८१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १३ जनाको मृत्यु भएको छ भने २९६ जना निको भएका छन् । वाँकी ५०१ जना सक्रिय संक्रमित छन् । ४८० जना होम आइसोलेशनमा बसेका छन् । अस्पतालमा १४ जनाको उपचार भइरहेको छ भने ७ जनालाई आइसोलेशनमा राखिएको छ ।

यो तथ्यांक धनकुटामा स्वाव संकलन गरेर पीसीआर परीक्षण गराइएकाको मात्र हो । जिल्लाबाहिर स्वाब दिएर परीक्षण गराउँदा संक्रमण पुष्टि भएका, निको हुँने र मृत्यु हुँनेको संख्या पनि निकै छ । जिल्ला प्रशासन कार्यालयले त्यो संख्या यसमा गणना गरेको छैन ।

यस्तो छ थप गरिएको निषेधाज्ञा आदेश…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!