संगालोखबर सम्वाददाता
धनकुटाको औद्योगिक ग्रामस्थित आइसोलेशन । फाइल तस्वीर

धनकुटा । धनकुटाको औद्योगिक ग्रामस्थित आइसोलेशनमा आज बिहान एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । धनकुटा नगरपालिका–५ का ७६ बर्षीय कोरोना संक्रमित बृद्धको बिहान करिब ६ बजे मृत्यु भएको हो ।

नेपाली सेनाले मृतकको शवलाई अन्त्येष्टिका लागि लगेको छ । जेठ ३ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइशोलेशनमा राखिएको हो । स्वास्थ्य अवस्था सामान्य रहेका उनको आज बिहान एक्कासी मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले बताए । ‘उहाँमा लक्षणहरु पनि हराउँदै गइसकेको थियो,’ डा.विश्वकर्माले संगालोखबरसँग भने, ‘हामीले डिस्चार्ज गर्ने तयारी गरेका थियौं । उहाँले १/२ दिनमा जान्छु भनेर बस्नु भएको थियो । आज एक्कासी मृत्यु भयो ।’

Advertisement

आइसोलेशनमा रहेकाहरुलाई १० देखि १४ दिनभित्र स्वास्थ्य अवस्था सामान्य रहेमा पुनः परीक्षणबिना नै डिस्चार्ज गर्ने गरिएको छ । ११ दिन आइसोलेशनमा बसेका उनलाई आइसोलेशनको बसाई पुरा भएको र स्वास्थ्य समस्या नरहेको भनेर डिस्चार्ज गर्ने तयारी गरिएको थियो । दमको रोगीसमेत रहेका उनको अचानक मृत्यु भएको हो ।

धनकुटा अस्पतालद्वारा सञ्चालित सो आइसोलेशनमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । कोरोना संक्रमण फैलिरहेका बेला गत बर्ष नै औद्योगिक ग्राममा अक्सिजनसहित २० बेडको आइसोलेशन बनाइएको हो । यसअघि एक सय भन्दा बढी संक्रमित सोही आइसोलेशनमा बसेर निको भई डिस्चार्ज भएका छन् । कोरोनाको दोस्रो लहर सुरु भएयता मात्रै ४० भन्दा बढी संक्रमित राखिएको जिल्ला अस्पतालले जनाएको छ । अहिले पनि १५ जना संक्रमित सोही आइसोलेशनमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!