संगालोखबर सम्वाददाता

काठमाडौं । अक्सिजन अभाव हुँदा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार प्रभावित भएको छ । भएको अक्सिजन रित्तिएको र सरकारले दिने भनेको कोटा अनुसारको अक्सिजन नपाउँदा विरामीको उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।

Advertisement

अक्सिजन नहुँदा उपचाररत विरामी डिस्चार्ज गर्नुपर्ने अवस्था आएको भन्दै अस्पतालले सीसीएमसीलाई बुधबार पत्र पठाएको छ । ‘अक्सिजन सप्लाई गर्न अस्पतालले नयाँ जडान गरेको मेसिनले काम नगरेको यहाँलाई विदितैछ । नेपाल सरकारको कोटाबाट प्राप्त हुँने २५० सिलिण्डर हालसम्म एउटा पनि प्राप्त भएको छैन, अन्यत्रबाट समेत अक्सिजन उपलब्ध हुँन सकेको छैन, मैज्दातमा भएका सबै सिलिण्डरहरु रित्तिएका छन्,’ केएमसीका बरिष्ठ प्रशासक प्रेमप्रकाश थापाले सीसीएमसीलाई पठाएको पत्रमा भनिएको छ, ‘२०७८ बैशाख २९ गते साँझ सम्मलाई मात्र अक्सिजन पुग्ने भएकाले यसबाट स्वास्थ्य अवस्थामा गम्भीर समस्या उत्पन्न हुँन नदिन विरामीलाई डिस्चार्ज गर्नुपर्ने अवस्था आएकाले यसको जानकारी तथा आवश्यक कारबाहीका लागि अनुरोध छ ।’

केएमसीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी वृत्तलाई पनि अक्सिजन अभावले संकट निम्तिएको जानकारी गराइसकेको छ । अस्पताललाई अक्सिजन उपलब्ध गराउँदै आएका सप्लायर्सहरुलाई रोकेर सरकारले एकद्वार प्रणालीबाट अक्सिजन दिने भनी कोटा तोकेको भएपनि अक्सिजन भने उपलब्ध नगराउँदा विरामीलाई अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने वाध्यात्मक अवस्था सृजना भएको अस्पतालका चिफ मेनेजमेन्ट कन्सलटेन्ट डा.केपी शर्माले बताए । ‘हामीले दुई वटा सप्लायर्स कम्पनीबाट दैनिक ३५० अक्सिजन सिलिण्डर लिदै आएका थियौं । सरकारले एकद्वार प्रणालीबाट अक्सिजन दिने भनेर सबैलाई रोक्यो, केएमसीलाई २५० सिलिण्डर दिने भनेको थियो, तर हामी सिलिण्डर लिन गएर धेरै प्रयास गर्दा पनि पाएनौं,’ डा.शर्माले भने, ‘हामीसँग भएको अक्सिजन पनि रित्तियो, सरकारले पनि दिएन, अरु केही उपाय पनि नहुँदा विरामीलाई डिस्चार्ज गर्नुपर्ने वाध्यात्मक अवस्था आएको हो ।’

अक्सिजन सिलिण्डर वितरणमा मनोमानी भइरहेको उनले आरोप पनि लगाए । पहुँच हुँनेले सजिलै अक्सिजन पाइरहेको भएपनि पहुँच नपुग्नेहरु रित्तै फर्कनुपरेको उनको भनाई छ । केएमसीमा अहिले १४२ जना कोरोना संक्रमित उपचाररत छन् । कोरोना संक्रमितलाई निःशुल्क उपचार गराउँनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएमसीबीच केही दिन अघि सम्झौता भएको थियो । सोही अनरुप सरकारी खर्चमा कोरोना संक्रमितले केएमसीमा निःशुल्क उपचार पाउँदै आएका छन् । तर, अहिले अक्सिजन अभाव हुँदा संक्रमितको उपचारमा समस्या भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!