धनकुटा । धनकुटामा आज एक विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल धनकुटाको ल्याबमा परीक्षण गर्दा धनकुटा–६ स्थित धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्समा अध्ययनरत २० बर्षीय छात्रको रिपोर्ट पोजिटिभ आएको हो ।
केही दिनअघिदेखि ज्वरोले सताएपछि उनी मंगलवार जिल्ला अस्पताल भर्ना भएका थिए । पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले जानकारी दिए । ‘ज्वरो आएर अस्पताल भर्ना भएका विरामीमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो,’ पोख्रेलले संगालोखबरसँग भने,‘पहिले देखिने गरेको भन्दा अहिलेको संक्रमण अलिक फरक छ, उहाँलाई ज्वरोसहित निमोनिया पनि भएको पाइएको छ ।’
जिल्ला अस्पतालमा तीन जनाको परीक्षण गर्दा एक जनाको रिपोर्ट पोजिटिभ आएको हो । लक्ष्यणसहितको संक्रमण देखिएको हुँनाले उनलाई विराटनगरस्थित कोशी अस्पताल पठाउँने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
केही दिन अघि पनि धनकुटा १० का एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित अहिले होम आइसोलेशनमा छन् । पहिलो चरणको कोरोना संक्रमण दर शुन्यमा झरेको धनकुटामा पुनः संक्रमण देखिन थालेको हो ।
यो पनि हेर्नुहोस्…