बेलबारी । मोरङको बेलबारी नगरपालिका–४ मा नव निर्मित आधारभूत स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले स्वास्थ्य चौकी भवन उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले सबै वडामा आफ्नै भवनबाट सेवा दिने गरी काम गरिरहेको बताए । बेलबारीका २, ३, ६ र १० नम्बर वडामा कार्यालय भवन निर्माण भइरहेका छन् भने १, ४, ५, ७, ८, ९ र ११ वडामा आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । बेलबारी नगरपालिका–४ का वडाध्यक्ष राम कुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता कृष्णप्रसाद र कृष्णमाया दुलाललाई नगर प्रमुख सुवेदीले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
नगरपालिकाले मुटु रोग, मिर्गाैला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीहरुलाई अहिलेसम्म एक करोडभन्दा बढी सहयोग गरिसकेको छ । नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ । त्यस्तै बेलबारी ४ मै १५ सैयाको अस्पतालसमेत शिल्यान्यास भइसकेको छ ।
त्यसैगरी बेलबारी नगरपालिकाले महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । माघ ११ गतेदेखि नगरका विभिन्न वडाहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविरमा अब्स्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाहरूको ईस्केनिङ रिगंपेशरी तथा भी.आई.ए. र आँखा जाँच सेवासमेत सञ्चालन गरिरहेको नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले जानकारी दिए ।