संगालोखबर सम्बाददाता

विराटनगर । नेवारहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् देबूले मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र कुमार क्षेष्ठका हत्यारालाई कारबाही गर्न माग गरेको छ । नेवाः देय् दबू केन्द्रिय समिति, १ नंम्बर प्रदेश समिति र जिल्ला समिति मोरङले संयुक्त रुपमा मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै हत्यारालाई कारबाहीको माग गरेको हो ।

Advertisement

मिक्लाजुङ–१ स्थित श्री सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको मंसिर २३ गते हत्या भएको थियो । नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपाले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएको छ । हत्या भएको एक महिना पुग्दा पनि हत्यारा पत्ता लगाएर कारबाही नगरेको र पीडित परिवारलाई क्षतिपूर्ति नदिएको भन्दै नेवाः देय् दबूले आपत्ति जनाएको छ । ‘शिक्षक जस्तो पवित्र पेशामा रहि राष्ट्रको सेवामा समर्पित राष्ट्रसेवकको विभत्स हत्या भएको एक महिना पुगिसक्दा पनि अपराधि पत्ता लगाई पक्राउ गरी कानूनको कठघरामा नल्याउँनु र मृतकको परिवारलाई राज्यको तर्फबाट प्रदान गरिने क्षतिपूर्ति र राहतसमेत उपलब्ध नहुनु दुखदायी कुरा हो ।’ ज्ञापन पत्रमा भनिएको छ ।

नेवाः देय् दबूले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन र मृतकलाई शहिद घोषणा गर्नसमेत ज्ञापन पत्रमार्फत माग गरेको छ । नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष नरेश कुमार ताम्राकार, १ नंम्बर प्रदेश समिति संयोजक सोम बहादुर श्रेष्ठ र जिल्ला समिति मोरङका अध्यक्ष सुरेश श्रेष्ठद्वारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा भनिएको छ –‘छिटो भन्दा छिटो अपराधि पत्ता लगाई कानूनी कठघरामा ल्याउँन र परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराई मृतकलाई सहिद घोषणा गर्न सरकार समक्ष जोडदार माग गर्दछौं ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!