धनकुटा । धनकुटामा सशस्त्र प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको ल्यावमा पीसीआर परीक्षण गर्दा तीन सशस्त्र प्रहरी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
१३ जनाको पीसीआर परीक्षण गर्दा ३१, ३८ र ४२ बर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी राजन प्रसाद पोख्रेलले जानकारी दिए । संक्रमितहरु धनकुटा सदरमुकामस्थित सशस्त्र प्रहरीको छिन्ताङ गुल्ममा कार्यरत इन्सपेक्टर, सही र बरिष्ठ हवल्दार हुन् । गुल्म भित्रका सात जना सशस्त्र प्रहरीको पीसीआर परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित तीनै जना गुल्म भित्रै आइसोलेशनमा बसेका छन् । यसअघि पनि धनकुटाका तीन सशस्त्र प्रहरीमा संक्रमण देखिएको थियो ।
योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या २११ पुगेको छ । जसमध्ये १० जनाको मृत्यु भएको छ भने १८९ जना निको भएका छन् । बाँकी १२ जना होम आईसोलेशनमा रहेको स्वास्थ्य कार्यालय धनकुटाका जनस्वास्थ्य अधिकृत वास्ना खत्रीले जानकारी दिइन् ।