
मोरङ । नेपाली काँग्रेसका महासमिति सदस्य डा.सुनिल शर्माले आगामी बैशाखमा कुनैपनि हालतमा चुनाव नहुँने दावी गरेका छन् । संसद विघटनको विरोधमा नेपाली काँग्रेस मोरङ क्षेत्र नं.३ ले बेलबारीमा गरेको विरोध सभालाई संवोधन गर्दै डा.शर्माले यस्तो दावी गरेका हुन् ।
बैशाखमा चुनाव गराउँदा प्रधानमन्त्री केपी ओली पक्षको २० सिट पनि नकट्ने दावी गर्दै नेता शर्माले आफ्नो पक्षमा जनलहर नभएका बेला ओलीले कुनैपनि हालतमा चुनाव नगराउँने जिकिर गरे । ‘हामीलाई मुर्ख नसम्झे हुन्छ । बैशाखमा कुनैपनि हालतमा चुनाव हुँदैन ।’ डा.शर्माले भने–‘आफ्नो पक्षमा जनलहर नभएका बेला प्रधानमन्त्रीले चुनाव गराउँछु भनेर भ्रम मात्र छरेका हुन् ।’

काँग्रेस चुनावदेखि डराएर नभाग्ने भएपनि चुनाव विधिसंवत हिवासले हुनुपर्ने उनको तर्क छ । देशव्यापी कार्यक्रम अनरुप काँग्रेस क्षेत्र नं. ३ ले पनि संसद् विघटनको विरोधमा विरोध जुलुश र सभा गरेको हो ।
विराटचौकमा भेला भएका काँग्रेसका सयौं नेता, कार्यकर्ता संसद् विघटनविरुद्ध नारावाजी गर्दै बेलवारी पुगेका थिए ।

जुशुलसपछि बेलवारीमा आयोजित सभालाई संवोधन गर्दै काँग्रेस नेताहरु बसन्त भट्टराई, ललित श्रेष्ठ, महेन्द्र सुवेदी, केशव निरौला, सुयर्माराज राई, गणेश खड्का लगायतले असंवैधानिक रुपमा संसद् विघटन गरेर नेकपा सरकारले मुलुकमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् ।





















