
मोरङ । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले शनिवार साँझ पदमुक्त गरेका छन् । संविधानको धारा १६९ को (२) (ख) बमोजिम मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
मन्त्री आङ्वो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहका हुन् । स्रोतका अनुसार प्रचण्ड–नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउँन हस्ताक्षर संकलन गरिरहेका छन् ।ओली समूहका मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँने तयारी भएपछि पूर्व माओवादी खेमाका मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले बर्खास्त गरेको बताईएको छ ।
यसैवीच, पदमुक्त भएका मन्त्री आङ्बोले यसअघि मन्त्रीको रुपमा काम गर्ने अवसर दिएको भन्दै मुख्यमन्त्री राईलाई धन्यवाद दिएका छन् । ‘प्रदेस सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा २ बर्ष १० महिना काम गर्ने अवसर दिनु भएकोमा मुख्यमन्त्री शेरधन राइलाई धन्यवाद व्यक्त गर्दछु’, पदमुक्त भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन् ।















