धनकुटा । धनकुटा नगरपालिका–७ जिरोपईन्टस्थित कोशी राजमार्गमा बिहिबार बिहान बसले किच्दा एक महिलाको मृत्यु भएको छ । बिहान करिब साढे ८ बजे धरानबाट भोजपुरतर्फ जाँदै गरेको को.१ ख.४०७४ नम्बरको यात्रुबाहक बसले किच्दा धनकुटा–९ रुद्रवारीकी करिब ४५ बर्षीया गुणा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक राई धनकुटाको विहिबारे हटिया जान रुद्रवारीबाट सोही बसमा चढेर आएकी थिईन् । बसबाट उत्रिएपछि सोही बसको पछाडीको चक्काले किच्दा उनको मृत्यु भएको अनुमान गरिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले संगालोखबरलाई बताए । ‘बसबाट उत्रिएपछि बस अगाडि बढ्ने क्रममा पछाडीको चक्काले किचेर उनको मृत्यु भएको जस्तो देखिन्छ । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान गर्दैछौ ।’ एसपी अधिकारीले भने ।
घटनापछि बस र चालक धनकुटा–९ मुलघाटका ३० बर्षीय नबिन लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक राईको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ ।
तस्वीर : मनोज राई र धर्मराज थोक्लेन