धनकुटा । धनकुटाको हिलेस्थित नेपाली सेनाको २ नं.बाहिनीमा कार्यरत मेजर हवल्दार पर्शुराम भट्टराईको मृत्यु शंकास्पद रहेको भन्दै तत्कालिन बाहिनीपतिसहित १४ जनाबिरुद्द मृतकका परिवारले किटानी जाहेरी दिएका छन् । सुनसरीको रामधुनी–३ का मृतक भट्टराईकी श्रीमती कमलाले घटना भएको ६ महिनापछि जिल्ला प्रहरी कार्यालय धनकुटामा किटानी जाहेरी दिएकी हुन् ।
हिलेस्थित सेनाको २ नं. बाहिनीका तत्कालिन बाहिनीपति यमप्रसाद ढकाल, सैनिक राजकुमार बस्नेत, तुन्जिङ शेर्पा, बाबुराम कार्की, दिलबहादुर कार्की, अकलबहादुर घले मगर, शेरबहादुर लिम्बु, गणेश श्रेष्ठ, अमरबहादुर देउजा, योगेन्द्र बास्तोला, भुवन थापा, लिला वि.क, आर्मस्ट्रङ्ग कबिरथ र दुर्गा बहादुर तामाङविरुद्ध किटानी जाहेरी परेको हो । प्रहरीले किटानी जाहेरी लिन नमानेको भन्दै मृतकका परिवारले हुलाकमार्फत प्रहरीमा जाहेरी पठाईएका हुन् । यता, सो घटनामा पहिलेनै उजुरी परेर अनुसन्धान भईरहेकाले अर्को जाहेरी नलिईएको भएपनि पछि हुलाकमार्फत मृतकको परिवारले किटानी जाहेरी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोबिन्द अधिकारीले बताए ।
गत जेठ ५ गते अचेत भईं लडेको अवस्थामा फेला परेको भन्दै बाहिनीबाट ३८ वर्षीय भट्टराईलाई उपचारका लागि बिराटनगरस्थित बिराट मेडिकल कलेज पुर्याईएको थियो । उपचारका क्रममा जेठ १२ गते उनको मृत्यु भयो । भट्टराईको शरिरका बिभिन्न भागमा चोटपटक लागेको भेटिएकाले घटना शंकास्पद रहेको भन्दै परिवारका सदस्यले छानविनका लागि सोही बेला प्रहरीमा उजुरी दिएका थिए । कुटपिटका कारण भट्टराईको मृत्यु भएको परिवारको आशंका छ ।
घटना भएको छ महिनापछि मृतककी श्रीमतीले तत्कालिन बाहिनीपतिसहित १४ जनाको नाममा किटानी जाहेरी दिएकी हुन् । परिवारका सदस्यले सरकारी सेवा–सुविधा प्राप्त गरेपछि किटानी जाहेरी दिएका हुन् । उनीहरुले घटनाको छानविन गर्नमा प्रहरीले चासो नदेखाएको आरोपसमेत लगाएका छन् ।