
धनकुटा । धनकुटाको रुद्रबारी–गुठिटार सडक खण्डको खुरिलामा सडक भासिदा कोशी राजमार्गमा सवारी आवतजावतमा जोखिम बढेको छ । राजमार्गको धरान–धनकुटा सडक खण्डमा पर्ने धनकुटा–९ खुरिलामा करिब १ सय मिटर सडक भासिएको हो ।
सडक भासिएपछि ह्याबी गाडी आवातजावतमा जोखिम भएको छ । तर, जोखिम बढेपनि सडक मर्मतमा सडक डिभिजन कार्यालयले चासो नदिएको स्थानीयबासीले गुनासो गरेका छन् । हजारौं सवारी साधन गुड्ने सडकमा एक हप्तादेखि सडक नियमित रुपमा भासिदासमेत मर्मतमा चासो नदिईएको स्थानीय गंगावहादुर आलेले बताए ।

आईतबारसम्म सडक करिव ३ मिटर भन्दा बढी भासिएको छ । सो स्थानमा कमेरे माटो र सिमसार पानी उम्रिने क्षेत्र भएकाले नियमित वर्षाले गर्दा सडक भासिने क्रम बढीरहेको स्थानीयबासी बताउँछन् । सडक भासिएका कारण सडक छेउमा रहेका बिधुतका पोलहरुसमेत ढल्ने अवस्थामा पुगेका छन् । पोल ढलेमा दुर्घटना निम्तिनसक्ने भएकाले त्यसलाई बेलैमा सार्न स्थानीय लक्ष्मण मगरले माग गरे । सडकको भित्तातर्फ माथिदेखि नै जमिन सोरिएर आएकाले त्यहाँ भन्दा माथिको बस्तीसमेत जोखिममा छ ।
यता, डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानवहादुर शाक्यले सडक भन्दा माथिल्लो भाग तासेर सडकतर्फी रुपमा गाडी गुड्ने सडक बनाईने बताएका छन् । धरान–धनकुटा सडक निर्माण भएको करिव ४० वर्षको अन्तरालमा सो स्थानमा पटक–पटक सडक भासिएर समस्या निम्तिने गरेको प्रमुख शाक्यले बताए । यसअघि करिब १८ बर्ष पहिले पनि सोही स्थानमा सडक भासिएको थियो ।
यस अघि मुलघाट माथिको ११ गोलाईमा पर्ने रुद्रवारी जंगलको ७ नम्वर गोलाईमा पनि करिव ५० मिटर सडक भासिएको छ । तर, हालसम्म पनि उक्त सडक निर्माणमा सडक डिभिजन कार्यालयले चासो दिएको छैन ।















