संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि १ करोड ६० लाख रकम उपलब्ध गराईएको प्रदेश सरकारले जनाएको छ ।

Advertisement

स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड क्षमताको आइसोलेशन केन्द्र बनाउन बजेट उपलब्ध गराएको छ । केही दिन अगाडि मात्र थप आइसोलेशन बेडहरुको व्यवस्था गर्न प्रदेश स्तरिय सिसिएमसी बैठकले निर्णय गरेको थियो । प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेडको आइसोलन केन्द्र बनाउन महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ ।

रंगेली नगरपालिका वडा नं ७ स्थित जनता क्याम्पसको भवनमा १०० बेडको आइसोलेशन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित वि.जेनेरल अस्पतालमा ५० बेडको आइसोलेशन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, बराहक्षेत्र नगरपालिकास्थित रमानन्द आचार्य सेवा पिठ चतरामा १०० बेडको आइसोलेशनका लगि १५ लाख र सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र संचालन गर्न ५ लाख उपलब्ध गराईएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

त्यस्तै प्रदेश नं १ का धनकुटा, ताप्लेजुङ्ग, पाँचथर, ईलाम, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र संचालन गर्न ५ लाखका दरले एकमुष्ट ५५ लाख रकम दिईएको छ । कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङ्गलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन संचालनका लागि उपलब्ध गराईएको छ ।

त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच/पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!