विराटनगर । विराटनगरको कोशी अस्पतालले श्वासप्रश्वासमा समस्या भएका विरामीलाई भर्ना लिन आनाकानी गर्दा एम्बुलेन्समै बिरामीको मृत्यु भएको छ । समयमा उपचार नपाउँदा उदयपुरको कटारी नगरपालिका–५ का २३ बर्षीय पदमबहादुर राईको अस्पताल परिषरमा एम्बुलेन्स भित्रै मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या भएपछि उनलाई स.१ च.१२०५ नम्बरको एम्बुलेन्समा राखेर बिराटनगर पुर्याईएको थियो । एम्बुलेन्स चालक सुवास तामाङका अनुसार पौने ३ बजे बिरामीलाई कोशी अस्पताल पुर्याईएको थियो । तर, अस्पतालका स्वास्थ्यकर्मीले बिरामीलाई उपचारका लागि एम्बुलेन्सबाट ओराल्न नमानेपछि उपचार कुर्दा कुदै करिव ४ बजे उनको मृत्यु भएको एम्बुलेन्स चालक तामाङले बताए ।
बिरामी राईको साथमा उनकी श्रीमति कमला र बहिनी चमेली थिए । पदमको मृत्यु भएपछि उनकी श्रीमति र बहिनीसमेत एम्बुलेन्समै बेहोस भएका थिए । कोरोनाको शंकास्पद बिरामी भन्दै अस्पतालका स्वास्थ्यकर्मीले उपचार गर्न नमानेको मृतकका आफन्तले बताएका छन् ।
यता, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले विरामीको अवस्था जटिल देखिएकाले धरान पठाउँने तयारी गर्दै गर्दा उनको मृत्यु भएको दावी गरे । यसैवीच मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।