भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा आईतबार दिउँसो आगलागी हुँदा जलेर घाईते भएकी बालिकाको उपचारका लागि लैजाने क्रममा धनकुटामा मृत्यु भएको छ । अरुण गाउँपालिका–३ प्याउलीका कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी तीन वर्षीया नातिनी विष्णुमाया घाईते भएकी थिईन् ।
आगलागीमा परी गम्भीर घाइते भएकी उनलाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएको थियो ।
राति करिव ७ बजे अस्पताल ल्याइएकी बालिकाको ल्याउँने क्रममै मृत्यु भएको पाईएको धनकुटा जिल्ला अस्पतालका प्रवक्ता राजन पोखरेलले जानकारी दिए । बालिकाको शव धनकुटा जिल्ला अस्पतालमै छ ।
विद्युत सर्ट भई आगलागी हुँदा कार्कीको टिनको छानो भएको कच्ची घरसहित घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगायत सम्पूर्ण सामान जलेका थिए । सोही क्रममा बालिकालाई पनि आगोले भेटेको हो । आगलागीबाट करिब १७ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।