
धनकुटा । भोजपुरको हतुवागढी गाउँपालिकाका कोरोना संक्रमित युवाको सम्पर्कमा पुगेका उनका आफन्तको धनकुटामा ‘स्वाब’ संकलन गरिएको छ । धनकुटाको सहिदभूमी गाउँपालिकामा रहेका संक्रमित युवाका दिदी र भिनाजुमा कोरोना संक्रमण परीक्षणका लागि आइतबार ‘स्वाब’ लिइएको हो ।
‘स्वाब’ परीक्षणका लागि सोमबार धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईले संगालोखबरलाई जानकारी दिए । भोजपुरका २६ बर्षीय संक्रमित युवा साउदीबाट आएका हुन् । धनकुटाको सहिदभूमी घर भएका उनका दिदी भिनाजु उनलाई भेट्न गएका थिए ।
ती युवामा कोरोना संक्रमण पुष्टि भएकाले उनको सम्पर्कमा पुगेका व्यक्तिमा पनि संक्रमण फैलिएको हुनसक्ने आशंकामा पीसीआर परीक्षण गर्न लागिएको हो । यसैवीच यसअघि संक्रमण पुष्टि भएका एक व्यक्तिसँगै आएका धनकुटाको सहिदभूमीका अर्का युवाको पनि ‘स्वाब’ संकलन गरिएको छ । कोरोना परीक्षणका लागि तीनै जनाको ‘स्वाब’ धरान पठाइदैछ ।
भोजपुरका संक्रमित युवा मलामी आउँने क्रममा धनकुटाको सिमा क्षेत्रमा पनि आएकाले उनको सम्पर्कमा पुगेका सुनवालुवा आसपास क्षेत्रका अन्य धनकुटेलीको पनि ‘स्वाब’ परीक्षण गर्ने तयारी गरिएको छ ।
धनकुटामा हालसम्म १ सय ५९ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ५ जनामा आरडीटी र पीसीआर दुबै गरिएको छ भने दुई जनामा पीसीआर परीक्षण मात्र गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।















