रबिन कटेल/संगालोखबर

धनकुटा । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका करिव ६ सय धनकुटेलीलाई जिल्ला ल्याइने भएको छ । जिल्लाका सात वटै पालिकासँग समन्वय गरी १४ दिन अनिवार्य क्वारेनटाइन बस्ने सर्तमा उनीहरुलाई धनकुटा ल्याउँन लागिएको हो ।

Advertisement

अब केहि दिनभित्रै उनीहरुलाई धनकुटा ल्याउने तयारी भइरहेको जिल्लाको प्रतिनिधित्व गर्ने संघीय सांसद राजेन्द्र राईले संगालोखबरलाई जानकारी दिए । ‘काठमाडौंमा अलपत्र परेका बिरामी, मजदुर, बिद्यार्थी लगायतलाई ल्याउँन हामीले जिल्लाका सात वटै पालिकाहरुसँग समन्वय गरेका छौं ।’ सांसद राईले भने ‘अब दुई/तीन दिन भित्रै उहाँहरुलाई धनकुटा ल्याउँछौ ।’

काठमाण्डौंमा अलपत्र परेकाहरुलाई सहयोग गर्न निर्माण गरिएको धनकुटा–काठमाडौं कोरोना विपत सहयोग समितिका संयोजक हेमराज भण्डारीका अनुसार अहिले काठमाण्डौंमा करिव १२ सय धनकुटेली सम्पर्कमा आएका छन् । उनीहरुमध्ये जिल्लाका सात वटै पालिकाका करिव ६ सय भन्दा बढीले आफुहरु अलपत्र परेको भन्दै जिल्ला पुर्याइदिन आग्रह गरिरहेका छन् । उनीहरुमध्ये अलपत्र परेकाको प्राथमिकताक्रम छुट्याएर जिल्ला ल्याउँन लागिएको हो ।

उपचार गर्न गएका वा अरु कामले काठमाडौं गएर घर फर्कन नपाएकालाई जिल्ला फर्काउँनेको सूचिमा पहिलो प्राथमिकता दिइएको छ । त्यस्तै परिवार धनकुटामा भएका तर, काठमाण्डौ गएर दैनिक ज्यालादारी मजदुरी गरी जीविका चलाइरहेकाहरुलाई दोस्रो र अध्ययनको सिलसिलामा बस्दै आएका बिद्यार्थी तथा काठमाण्डौ स्थायी बसोवास नभएका धनकुटेलीलाई तेस्रो प्राथमिकतामा राखेर जिल्ला ल्याउँने तयारी गरिएको छ । प्राथमिकताक्रम अनुसार अलपत्र परेका सबै धनकुटेलीलाई जिल्ला ल्याइने सांसद राईले जानकारी दिए ।

दुबै तर्फ स्वास्थ्य परीक्षण गरिने, क्वारेनटाइन बस्नुपर्ने अनिवार्य सर्त

काठमाडौंबाट धनकुटा आउँनेहरुलाई क्वारेनटाइनमा बस्नुपर्ने सर्त अनिवार्य गरिएको छ । अलपत्र परेकाहरुलाई ल्याउँने बिषयमा जिल्लाका सांसद र सात वटै पालिका प्रमुखहरुवीच सदरमुकाममा भएको छलफलले उनीहरुलाई १४ दिन अनिवार्य क्वारेनटाइनमा राख्ने निष्कर्ष निकालेको हो ।

व्यक्तिको यात्रा विवरण र स्वास्थ्य मुल्यांकन गरी पालिकाहरुमा निर्माण गरिएको क्वारेनटाइन वा होम क्वारेनटाइनमा बस्नुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छलफलमा सहभागि चौबिसे गाउँपालिका प्रमुख खजिन्द्र राईले जानकारी दिए ।

यता, लकडाउनका कारण काठमाण्डौंमा अलपत्र परेका सबै धनकुटेली एक महिना भन्दा बढी होम क्वारेनटाइनमै रहेकाले उनीहरु जिल्ला आउँदा संक्रमणको जोखिम खासै नरहेको प्रदेश सांसद निरन राई बताउँछन् । उनी भन्छन्– ‘लकडाउनले गर्दा होम क्वारेनटाइनमा बसेको महिना दिन बितिसकेको छ, उनीहरुको स्वास्थ्य परीक्षण पनि अनिवार्य गरिने हुँनाले संक्रमणको जोखिम नहोला ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!