
मोरङ । नेपाली काँग्रेसका नेता डा.सुनिल शर्मा लकडाउनको समयमा पनि बिरामीको उद्धारमा सक्रिय छन् । काँग्रेस महासमिति सदस्य डा.शर्माले बिपन्न बिरामीको घर–घरमा पुगेर उनीहरुलाई अस्पताल लगि निःशुल्क उपचारको व्यवस्था मिलाउँने क्रमलाई जारी राखेका हुन् ।
बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले मोरङको क्षेत्र नं.३ का गाउँ–गाउँमा पुगी गरिब, बिपन्न र उपचार गर्न नसकेर समस्यामा रहेका बिरामीहरुलाई अस्पताल ल्याई निःशुल्क उपचार गराईरहेका छन् ।
उनले शनिबार पनि बेलबारी–२ लालभित्तिकी ७२ बर्षीया मृगौलापीडित सोममाया तामाङलाई घरमै पुगेर उद्धार गरी अस्पताल पुर्याएका छन् । एम्बुलेन्ससहित बिरामी तामाङको घरमै पुगेका डा.शर्माले उनलाई घरबाट उठाएर उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याएका हुन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको तर्फबाट मोरङको क्षेत्र नं.३ मा उम्मेद्वारसमेत बनेका डा.शर्माले सो क्षेत्रका गरिब, बिपन्न बिरामीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि मिलाइदिएका छन् ।
उनले बर्षौ अघिदेखि सो क्षेत्रका बिरामीलाई निःशुल्क एवं सहुलियतमा उपचार गर्ने व्यवस्था मिलाइरहेका छन् । केहि दिन अघि पनि डा.शर्माले सो क्षेत्रका कोरोना प्रभावित गरिब, बिपन्न तथा मजदुरलाई राहत वितरणका लागि ३७ लाख ३६ हजार रकम प्रदान गरेका थिए ।















