गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिकाले नगरक्षेत्रको राजमार्गमा अलपत्र परेका व्यक्तिहरुको उद्धार गर्ने भएको छ । लकडाउनका कारण पैदल हिडेर गन्तव्यमा पुग्न नपाई बाटोमै अलपत्र परेकाहरुलाई उद्धार गरी व्यवस्थापन गरिने भएको हो । नगरपालिकाद्वारा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

पैदल आएर बाटोमा अलपत्र परेका बटुवाहरुलाई सहजताका लागि खाना र बस्नको व्यवस्था मिलाउन लागिएको संकट व्यवस्थापन केन्द्रका संयोजक एवम् नगर प्रमुख चिन्तन तामाङले संगालोखबरलाई जानकारी दिए । ‘टाढा टाढाबाट पैदल आएकाहरु खान पाएनौ भन्दै नगरपालिकामै पनि आउने गर्नु भएको छ ।’ तामाङले भने ‘यसरी अलपत्र परेकाहरुलाई स्वास्थ्य परीक्षण गरी खान र बस्नको व्यवस्था मिलाउन लागेका हौ ।’

छिमेकी जिल्लाका मानिसहरु बाटोमा खान नपाएर अलपत्र परेको भन्दै नगरपालिकामा आउने गरेका छन् । उनीहरुलाई क्वारेनटाइनमा बास बस्न दिइने भएको हो । अलपत्र व्यक्तिहरुको व्यवस्थापनका लागि नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालको संयोजकत्वमा तीन सदस्यीय समितिसमेत निर्माण गरिएको छ ।

बैठकले उपचारमा खटिने स्वास्थ्यकर्मी र नगर प्रहरीलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउने, स्वास्थ्य संस्थामा थर्मल गनसहित स्वास्थ्य उपकरणको व्यवस्थापन सहज बनाउने र औद्योगिक ग्रामको क्वारेन्टाईन सेन्टरलाई थप सामाग्रीको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!