धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले कोरोना भाइरस संक्रमण रोकथाम र राहत वितरणमा भएका काम बुधबार सार्वजनिक गरेको छ । नेकपाले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी पार्टी कमिटी र पार्टीबाट निर्वाचित सातवटै स्थानीय तहका जनप्रतिनिधिमार्फत भएका काम सार्वजनिक गरेको हो ।
पार्टीको निर्देशन अनुसार पार्टी स्थानीय कमिटी र स्थानीय तहहरुले गरेका कामको विवरण आम नागरिकसम्म पु¥याउन आवश्यक रहेकाले सार्वजनिक गरिएको नेकपाका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले बताए । कोरोना संक्रमणबाट जोगिने एकमात्र विकल्प लकडाउन भएकाले त्यसलाई पालना गरेर आफु पनि बाच्न र अरुलाई पनि बचाउँन राईले आग्रह गरे ।
पत्रकार सम्मेलनमा जिल्लाका सातै पालिकाका प्रमुख, उपप्रमुखले कोरोना संक्रमण रोकथाममा सावधानी अपनाइएको र लकडाउन प्रभावित गरिब, बिपन्न, ज्यालादारी मजदुरलाई राहत वितरणमा केन्द्रित भएको भन्दै राहत वितरणको विवरण प्रस्तुत गरेका छन् । धनकुटा नगर प्रमुख चिन्तन तामाङ, पाख्रीवास नगर प्रमुख बिर्षबहादुर राई र महालक्ष्मी नगर उपप्रमुख मञ्जु अधिकारीले विवरण प्रस्तुत गरे ।
त्यस्तै गाउँपालिकाहरुको तर्फबाट छथर जोरपाटी अध्यक्ष शेरबहादुर लिम्बु, सहिदभूमी अध्यक्ष मनोज राई, साँगुरीगढी अध्यक्ष कुमारजंग याख्या र चौबिसे अध्यक्ष खजिन्द्र राईले ‘ब्रिफिङ’ गरेको नेकपा प्रचार बिभाग प्रमुख अर्जुन राईले जानकारी दिए ।
यस्तो छ सातवटै पालिका प्रमुखले प्रस्तुत गरेको जिल्लाभरको विवरण शारंस :
१. राहतका लागि लगत संकलन गरिएको जम्मा घरधुरी संख्या : ७७४५
२. राहत बितरण भैसकेको घरधुरी संख्या : ६६४५ (बितरण जारी रहेको)
३. लाभान्वित जनसंख्या : २९३६०
४. राहत बितरणमा खर्च भएको रकम : १,२४,२२,६१५/-
५. प्रकोप ब्यबस्थापन कोषमा जम्मा भएको रकम : १,०८,७५,०००/- (थप्ने, थपिने क्रम जारी रहेको)
६. मापदण्ड पूरा गरि तयारी एम्बुलेन्स संख्या : ४ वटा
७. १२१ बेड सहितको क्वारेण्टाईन केन्द्र स्थापना
८. २३ वटा थर्मलगनसहितको हेल्थ डेस्क सञ्चालन
९. १६४ थान पीपीई स्वास्थ्यकर्मीहरुलाई प्रदान