संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा डिलरबाट ग्यास वितरण गर्न आनाकानी गरिएको भन्दै उपभोक्ताले ग्यास डिलर सञ्चालकबिरुद्ध आज नाराबाजी गरेका छन् । खाना पकाउँने ग्यास लिन खाली सिलिण्डर बोकेर जिरो पोईन्ट स्थित कोशी ग्यास डिलर पुगेका उपभोक्तालाई ग्यास दिन आनाकानी गरिएको भन्दै उनीहरुले डिलर सञ्चालकविरुद्ध नारावाजी गरेका हुन् ।

Advertisement

डिलरबाट वितरण नगरी अतिरिक्त शुल्क लिएर गाडी मार्फत घर–घर ग्यास पुर्याउँने डिलर सञ्चालकले बताएपछि उपभोक्ताहरुले बिरोध जनाएका हुन् । सो क्रममा डिलर सञ्चालक र उपभोक्तावीच चर्काचर्की भएको थियो । हात हालाहालको अवस्था आएको भएपनि प्रहरीले रोकेको प्रत्यक्षदर्शीले बताएका छन् । डिलरमा ग्यास आएको थाहा पाएपछि उपभोक्ताहरु खाली सिलिण्डरसहित बिहानैदेखि डिलर अगाडी लामबद्ध भएका थिए ।

३ घण्टा लाईन बसिसकेपछि अन्तिममा डिलरबाट ग्यास नबाढ्ने भनिएकाले बिरोध गरिएको धनकुटा–७ का व्यावसायी रमेश पौडेलले बताए । ‘हामी बिहान ६ बजेदेखि लाईनमा बसेका थियौं । ९ बजिसकेपछि डिलरसाहुले डिलरबाट ग्यास नदिने भनेकाले बिरोध गरेका हौ ।’ संगालोखबरसँग पौडेलले भने ‘हामीले टेम्पुमा एक सय रुपैयाँ तिरेर खाली सिलिण्डर पुर्यायौं । खाली सिलिण्डर घर फर्काउँदा अर्को एक सय खर्च लाग्छ । डिलरले गाडीबाट ग्यास लग्दा अर्को सय रुपैया तिर्नुपर्ने हुँनाले तीन सय खेर जाने हुँदा सवैले बिरोध गर्नु परेको हो ।’

यता, डिलर सञ्चालकले भने कोरोना संक्रमण हुँनसक्ने भन्दै डिलरबाट ग्यास नबाढ्ने बताएका थिए । अन्ततः विरोध चर्किएपछि प्रहरी परिचालन गरेर डिलरबाटै ग्यास वितरण गरिएको छ । सुरुमा विवाद भएतापनि डिलरबाट ग्यास बाढ्न थालेपछि विवाद साम्य भएको धनकुटाका प्रहरी प्रमुख सुदर्शन कोईरालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!