
धनकुटा । आगामी चैत ६ गतेबाट सञ्चालन हुँन लागेको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा प्रदेश नम्बर १ बाट ८४ हजार १ सय ६ जना बिद्यार्थी सहभागी हुने भएका छन् । प्रदेशका १४ जिल्लाबाट साधारणतर्फ ७९ हजार ७ सय २६, प्राविधिकतर्फ १ हजार ७ सय ५५ र ग्रेटबृद्धितर्फ २ हजार ६ सय २५ परिक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय धनकुटाले जनाएको छ ।
प्रदेशमा सबैभन्दा बढी मोरङबाट १८ हजार ८ सय २१ विद्यार्थी र सबैभन्दा कम तेह्रथुमबाट १ हजार ८ सय २ विद्यार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालयका शाखा अधिकृत यादव प्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार ताप्लेजुङबाट २ हजार ४ सय, पाँचथरबाट ३ हजार ८ सय, इलामबाट ४ हजार ८ सय, झापाबाट १६ हजार, सुनसरीबाट १३ हजार १ सय, धनकुटाबाट २ हजार ९ सय र भोजपुरबाट ३ हजार १ सय परिक्षार्थी सहभागी हुदैछन् ।
त्यस्तै संखुवासभाबाट २ हजार ८ सय, सोलुखुम्बुबाट १ हजार ८ सय, ओखलढुंगाबाट २ हजार ७ सय, खोटाङबाट ३ हजार ७ सय र उदयपुरबाट ६ हजार विद्यार्थीले एसईई दिदैछन् ।
३ सय ७५ परिक्षा केन्द्रमा ८ हजार कर्मचारी खटाईने
एसईईका लागि १ नम्बर प्रदेश भरी ३ सय ७५ परिक्षा केन्द्र तोकिएको छ । परिक्षालाई मर्यादित बनाउँन करिब ८ हजार कर्मचारी खटाईने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
३ सय ७५ केन्द्राध्यक्ष, ५ सय ६४ सहायक केन्द्राध्यक्ष, ४ हजार २ सय १२ निरीक्षक, ८ सय ४५ परिक्षा सहायक र १ हजार ६ सय ७९ कार्यालय सहयोगी परिचालन गरिने निर्देशनालयका शाखा अधिकृत दुलालले बताए ।
प्रत्यक परिक्षा केन्द्रमा बढीमा १५ जना सुरक्षाकर्मी खटाईनेछ । परिक्षा केन्द्रहरुमा प्रश्नपत्र र उत्तर पुस्तिकासमेत पुगिसकेको निर्देशनालयले जनाएको छ ।















