
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाका एक युवकले आफु अपहरणमा परेको नाटक गरेर आफ्नै बाबुसँग फिरौती रकम लिएको रहस्य खुलेको छ । फिरौती रकम लिने बुढीगंगा–३ का २४ बर्षीय मुकेश कुमार महत्तोलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
महतो र उनको घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । फागुन २३ गते घरबाट निस्किएका महतोले सोही दिन आफु अपहरणमा परेको भन्दै बुबालाई फोन गरेका थिए ।
घटना बारेका जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनको खोजी थाल्यो । खोजतलास गर्ने क्रममा फागुन २६ गते सुनसरीको भान्टावारीमा मुकेश फेला परेपछि अपहरण नभई अपहरणको नाटक मात्र भएको रहस्य खुलेको प्रहरीले जनाएको छ ।
मुकेश पक्राउ परेसंगै फिरौती रकमसहित राजवंशीलाई पनि प्रहरीले पक्राउ गरेको हो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।















