संगालोखबर सम्वाददाता

मोरङ । नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको सुन्दरहरैंचामा निःशुल्क एम्बुलेन्स प्रदान गरेका छन् । समाजसेवामा सक्रिय डा.शर्माले सुन्दरहरैंचा–१२ शुक्रबारे स्थित शक्रेश्वर शिव पञ्चायन मन्दिरलाई एम्बुलेन्स प्रदान गरेका हुन् ।

Advertisement

एम्बुलेन्स हस्तान्तरणका लागि मन्दिर परिषरमा आयोजित कार्यक्रममा डा.शर्माले मन्दिर व्यवस्थापन समिति अध्यक्ष जयकुमार श्रेष्ठलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे ।

चावी हस्तान्तरणपछि बोल्दै डा.शर्माले गरिब तथा बिपन्न बिरामीलाई सेवा पुर्याउँन एम्बुलेन्स दिएकाले गरिबलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने घोषणा पनि गरेका छन् । ‘गरिब बिपन्नलाई सेवा पुर्याउँनका लागि एम्बुलेन्स उपलब्ध गराएका हौ ।’ उनले भने ‘पैसा हुँनेहरुले अरु एम्बुलेन्सले लिने रेटको आधा तिर्नुहोस्, नहुँने गरिब बिपन्नले निःशुल्क एम्बुलेन्स सेवा पाउँँनुहुन्छ ।’

डा.शर्माले मन्दिरको व्यवस्थापनका लागि एक लाख रुपैंयाको अक्षयकोष निर्माण गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव ढकाल र कांग्रेस महासमिति सदस्य ललित श्रेष्ठले धन मात्र नभई मन पनि उत्तिकै रहेका डा.शर्माले गरिब दुखीको सेवालाई निरन्तरता दिएको भन्दै प्रशंसा गरे ।

सुन्दरहरैंचा–१२ का वडाध्यक्ष रोशनप्रसाद ढकाल, सुन्दरहरैंचा–११ का वडाध्यक्ष विशनलाल चौधरी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयकुमार श्रेष्ठ लगायतले एम्बुलेन्सबाट सुन्दरहरैंचाबासीलाई धेरै राहत मिल्ने भन्दै एम्बुलेन्स दाता डा.शर्माको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा दोसल्ला र प्रमाणपत्र प्रदान गरी डा.शर्मालाई सम्मान एवं अभिनन्दन पनि गरिएको छ ।

डा.शर्माले केहि दिन अघि कर्णाली प्रदेशको विकट जिल्ला कालिकोटमा पनि एम्बुलेन्स प्रदान गरेका थिए । उनले यसअघि मोरङको पथरीशनिश्चरे, इटहरा र पाँचथरमा पनि एम्बुलेन्स प्रदान गरिसकेका छन् ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!